काठमाडौं: प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले (नेबीसंघ) यातायात क्षेत्रमा गरिएको १० प्रतिशत भाडा वृद्धिको विरोधमा सोमबार राजधानीमा चक्काजाम गरेको छ।
सरकार र यातायात व्यवसायीबीच १० प्रतिशत भाडा वृद्धि गर्ने सहमति भएको र त्यो हिजोबाट नै लागु गरिएको विरोधमा संघले सोमबार एक घण्टा काठमाडौंको प्रर्दशनी मार्गमा चक्काजाम गरेको हो।
चाडपर्वका बेला सर्वसाधारणलाई झनै मारमा पार्नेगरी सरकारले यातायातमा समेत भाडा वृद्धि गरेकाले त्यसको विरोधमा एक घण्टा चक्काजाम गर्नु परेको संघका केन्द्रिय उपाध्यक्ष सागर परियारले जानकारी दिए ।
उनले वृद्धि गरिएको यातायात, पेट्रोलियम पदार्थलगायतको मूल्यवृद्धि तत्काल फिर्ता नलिए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिए ।
बिहान नौं बजेदेखि १० बजेसम्म एक घण्टा चक्काजाम गर्न प्रर्दशनीमार्गमा भेला भएका संघका नेता, कार्यकर्ताहरुले जनविरोधी, अपराधि र राष्ट्रघाती भएको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए । उनीहरुले ६ महिनामा पनि सरकारले जनताले सेवा दिने कुनै पनि काम गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी ओलीको राजीनामा समेत माग गरेका थिए ।