काठमाडौँ: पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकार भ्रष्टाचार न्यूनीकरण गर्न चुकेको बताएका छन्।
सत्ता पक्ष दलको प्रमुखको हैसियतले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले जनता भ्रष्टाचारमुक्त प्रशासन चाहन्थे तर सात महीनामा जनतालाई सुशासनको अनुभूति हुन नसकेको बताए ।
उनले विकास निर्माणमा ठेकेदारले गुणस्तरहीन काम गरेको तथा जनताको जनजीविकासँग जोडिएको गाँस, बास कपास, शिक्षा, स्वास्थ्य र सुरक्षामा सन्तोषजनक उपलब्धि प्राप्त हुन नसकेको बताए।
चालू दोस्रो अधिवेशनको ७९औँ बैठकलाई सम्बोधन गर्दै नेता नेपालले ‘विकास निर्माणमा आबद्ध ठेकेदार बेपत्ता हुनु, कालोसूचीमा परेका भ्रष्टहरु पुरस्कृत हुनु र महिला हिंसा बढ्दै जानु’ सरकारप्रतिको जनविश्वास गुम्दै गएको बताए।
संसद्का बैठकमा सांसदहरुले सरकारको काम कारवाहीप्रति गरेका ध्यानाकर्षणका विषय सफलतापूर्वक कार्यान्वयन हुन नसक्नुले पनि सरकारप्रति जनताको नकारात्मक प्रभाव बढ्दै गएको उनको गुनासो थियो । उनले केही विकास विरोधीले विमानस्थल, जलविद्युत् परियोजना र सडक निर्माण गर्न अवरोध पु¥याएको आरोप लगाए।