काठमाडौँ: सरकारले नजिकिँदो चाडबाडलाई लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालन गर्ने भएको छ । विगत वर्षहरुमा दशैं–तिहारलगायत चाडपर्वलाई लक्षित गरेर यस्ता पसलहरु सञ्चालन गर्दै आएको सरकारले यस वर्ष पनि त्यसलाई निरन्तरता दिन लागेको हो ।
सुपथ मूल्य पसल सञ्चालनको नेतृत्व गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपत्यकासहित देशका विभिन्न ४७ स्थानमा यस्ता सुपथ मूल्य पसल सञ्चालन गर्ने जानकारी दिएको छ । आजदेखि खुल्ने सुपथ मूल्य पसल कात्तिक २३ सम्म सञ्चालन गर्ने विभागको तयारी छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत नेशनल ट्रेडिङ, साल्ट ट्रेडिङ कर्पोरेसन, खाद्य संस्थान र दुग्ध विकास संस्थानले सहुलियत पसलहरु संचालन गर्नेछन्।
यस वर्षको सुपथ पसलमा प्रति किलो २ देखि ५० रुपियाँसम्म छुटको व्यवस्था गरेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी नेपाल खाद्य संस्थानले सोनो मन्सुली, जिरा मसिनो र जापानिज चामलमा प्रति किलो पांच रुपैयाँ, बासमती र गोरखनाथ चामलमा प्रति किलो १० रुपैयाँ छुट दिने संस्थानका प्रबक्ता शंकर सापकोटाले बताए।
संस्थानले खसी बोकामा प्रतिकोलो १० रुपैयाँ, जुम्ली तिते फापरमा प्रतिकिलो १० रुपैयाँ, जुम्ली सिमीमा पनि प्रतिकिलो १० रुपैयाँ छुटमा विक्री गर्ने तयारी गरेका छौँ, उनले भने।
सरकारले यस वर्ष घ्यूमा प्रतिकिलो ५० रुपैयाँ, चिनीमा प्रतिकिलो ५ रुपैयाँ, नुनमा प्रतिकिलो २ रुपैयाँ र पनिरमा प्रतिकिलो १० रुपैयाँ छुट दिने निर्णय गरेको छ।