काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त र प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउन आग्रह गरेका छन् ।
अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अभियोजन र प्रमाणका तथ्यले दुविधारहित रुपमा न्याय सम्पादन हुन सक्ने गरी अनुसन्धान र अभियोजन गर्न आग्रह गरे ।
‘समाजमा अन्याय हुन नदिन र सामाजिक प्रबन्धका लागि अनेक खोज अध्ययन, अनुसन्धान गरेर मानवोचित र न्यायपूर्ण समाज सिर्जना गर्न समयानुकूल कानुनको निर्माण र प्रभावकारी कार्यान्वयन आवश्यक छ । त्यसका लागि उचित स्रोत, साधानसहित दीक्षित, सक्षम र इमानदार जनशक्तिको खाँचो रहेको छ,’ उनले भने, ‘प्रहरीमा स्वच्छता, निष्पक्षता, पारदर्शिता हुनुपर्छ । सुविधा पुगेन भनेर त्यतातिर सोच्नु नपरोस् भनेर सरकारले सेवा सुविधामा आवश्यक ध्यान दिनेछ ।’
अपराधिले अपराध ढाकछोपका लागि अनेक सोच र प्रविधिको प्रयोग गर्ने भएकाले त्यसलाई अपराधीलाई तत्काल नियन्त्रणमा लिन प्रहरी नयाँनयाँ प्रविधिसहित स्रोत साधनसम्पन्न हुनुुपर्ने र त्रृटिरहित अनुसन्धानले नै न्याय निरुपणका लागि बाटो देखाउने प्रधानमन्त्री ओलीको भनाइ थियो ।
गृहमन्त्री रमेश लेखक, महान्याधिवक्ता रमेश बडालसहित सहभागी सम्मेलनमा प्रधानमन्त्री ओलीले प्रणालीगत प्रबन्धमार्फत समान अधिकार र अवसर दिन तथा विकास, सुव्यवस्था र सुशासनका पक्षमा ध्यान दिँदै दोषीलाई कारबाही र पीडितलाई न्याय दिने काममा लाग्न आग्रह गरे ।
प्रहरी प्रधान कार्यालयमा आयोजित दुई दिने सम्मेलनले घोषणापत्र जारी गर्नेछ ।