काठमाडौँ । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनले मुलुकमा परिवर्तनको नयाँ सङ्केत दिएको भन्दै १० जना अग्रणी व्यक्तिहरूले संयुक्त वक्तव्य जारी गरेका छन्। वक्तव्यमा आन्दोलनले सम्पत्ति, शक्ति र अवसरको असमान वितरणकै कारण असफल राष्ट्रतर्फ धकेल्ने खतरालाई उजागर गरेको उल्लेख छ।
संयुक्त वक्तव्यमा भनिएको छ, “नेपाली जनताले शताब्दीयौँ लामो सङ्घर्षपछि संविधानसभाबाट प्राप्त संविधानले सुनिश्चित गरेको लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशिता र धर्मनिरपेक्षतासहितका अधिकारहरूलाई पछाडि फर्काउने कुनै पनि प्रयास अस्वीकार्य छ।”
वक्तव्यमा मुलुकमा देखिएका खोट, विकृति र समस्याहरूको समाधानका लागि दलभित्र आमूल परिवर्तन आवश्यक रहेको निष्कर्ष निकालिएको छ। साथै, विगतका कमजोरीप्रति गम्भीर आत्मालोचना गर्दै राज्यको प्रगतिशील रूपान्तरण र जनताको आकांक्षा अनुसारको विकासको बाटोमा अघि बढ्ने प्रतिबद्धता जनाइएको छ।
संयुक्त वक्तव्यमा हस्ताक्षर गर्नेहरूमा उषा किरण तिमल्सिना, दामोदर अर्याल, दीपक देवकोटा, महेन्द्र श्रेष्ठ, युवराज चौलागाईँ, लक्ष्मण लम्साल, लेखनाथ न्यौपाने, शरद रसाइली, सोनामसिंह स्वाङतान र टेकम बांठा रहेका छन्।
