काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले विद्युत् कटौती, मर्मत सम्भार तथा सेवा अवरुद्ध सम्बन्धी पूर्वसूचना सिधै र छिटो-छरितो रूपमा ग्राहकहरूसम्म पुर्याउने मुख्य उद्देश्यका साथ अनलाइन KYC (ग्राहक पहिचान) सेवा सुरु गरेको छ।
विद्युत् प्रणाली सुधार तथा नियमित मर्मत-सम्भारका क्रममा हुने विद्युत् अवरोधको सूचना समयमै नपाउँदा ग्राहकले भोग्नुपरेको सास्तीलाई अन्त्य गर्न प्राधिकरणले https://kyc.nea.org.np पोर्टल सञ्चालनमा ल्याएको हो। अब प्राधिकरणका ग्राहकहरूले भौतिक रूपमा कार्यालय
धाउनुपर्ने बाध्यताको अन्त्य भई घरमै बसेर आफ्नो सम्पर्क नम्बर तथा आवश्यक विवरणहरू अद्यावधिक गर्न सक्नेछन्।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले ग्राहकहरूलाई निरन्तर, सुरक्षित र गुणस्तरीय विद्युत् सेवा प्रदान गर्नु नै प्राधिकरणको प्रमुख प्राथमिकता रहेको बताउनुभयो।
उहाँका अनुसार प्रसारण तथा वितरण लाइन मर्मत वा आपतकालीन कारणले विद्युत् अवरोध हुने अवस्था आएमा त्यसको पूर्वसूचना सिधै सम्बन्धित क्षेत्रका ग्राहकको मोबाइलमा SMS तथा प्रणालीमार्फत पुगोस् भन्ने उद्देश्यले नै यो अनलाइन KYC अभियान सञ्चालनमा ल्याइएको हो।
यसैगरी योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशकले पहिले कार्यालयमै धाएर KYC भर्नुपर्ने समस्यालाई अनलाइन माध्यमबाटै घरमा बसीबसी भर्न सकिने गरी व्यवस्था गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार प्रणालीमा ग्राहकको सही सम्पर्क नम्बर र क्षेत्र प्रविष्ट भएसँगै सम्बन्धित क्षेत्रमा हुने विद्युत् अवरोध, महसुल तथा अन्य सेवा सम्बन्धी जानकारीहरू पारदर्शी र समयमै ग्राहकसम्म पठाउन थप सहज हुनेछ।
अनलाइन प्रणाली लागू भएसँगै ग्राहकहरूलाई समयको बचत हुनुका साथै कार्यालयमा लाग्ने लाइन र झन्झटबाट पूर्ण मुक्ति मिल्नेछ। ग्राहकहरूले जुनसुकै समयमा मोबाइल वा कम्प्युटरको ब्राउजरमार्फत https://kyc.nea.org.np मा गएर आफ्नो ग्राहक नम्बर (Customer ID) र अन्य मागिएका विवरणहरू भरेर सजिलै KYC अद्यावधिक गर्न सक्नेछन्।
