काठमाडौँ: चालु आर्थिक वर्षको भदौ महिनामा खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री हालसम्मकै उच्च भएको छ ।
नेपाल आयल निगमका अनुसार भदौ महिनामा ४२ लाख १३ हजार ६६१ सिलिन्डर बराबरको ५९ हजार ८३३ टन एलपी ग्यास आयात गरी देशभर बिक्री वितरण गरिएको छ ।
निगमकाअनुसार सेप्टेम्बर १७ सम्म इन्डियन आयल कर्पोरेसन (आईओसी) का विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट ३० हजार ३१८ टन एलपी ग्यास लोड भइसकेको थियो । गत वर्षको सोही महिनाको तुलनामा भदौमा करिब ८ लाख ५७ हजार सिलिन्डर बढी एलपी ग्यास बिक्री भएको छ । गत वर्ष भदौमा निगमले करिब ३६ लाख ६० हजार सिलिन्डर ग्यास बिक्री गरेको थियो ।
त्यसैगरी, चालु वर्षको साउनमा ५७ हजार ३१६ टन बराबरको करिब ४० लाख ४० हजार सिलिन्डर तथा असारमा ४४ हजार ५४४ टन बराबरको ३१ लाख ४० हजार सिलिन्डर ग्यास बिक्री भएको थियो । गत वर्षको सोही महिनामा क्रमशः करिब ३१ लाख २० हजार र ३३ लाख ८० हजार सिलिन्डर बिक्री भएको थियो । यसले चालु वर्षको साउन र भदौमा गत वर्षको सोही अवधिको तुलनामा एलपी ग्यासको बिक्री बढी भएको देखाउँछ ।
निगमका एलपी ग्यास तथा हवाई इन्धन विभागका निर्देशक एवं विभागीय प्रमुख बिनीत मणि उपाध्यायले भदौमा इन्डियन आयल निगमबाट भएको एलपी ग्यासको आयात एक महिनामा भएको हालसम्मकै उच्च आयात भएको बताए ।
“साउन र भदौ गरी पछिल्ला दुई महिनामा सामान्य अवस्थाको तुलनामा खाना पकाउने ग्यासको आयात उल्लेख्य रूपमा बढेको छ । भदौमा साउनको भन्दा बढी ग्यास आयात भएको छ । साउनमा करिब ५७ हजार ३०० टन ग्यास आयात गरेका थियौँ,” उनले भने ।
निगमको अनुरोधपछि आईओसीले नेपालमा सामान्यभन्दा बढी एलपी ग्यासको आपूर्ति बढाएको हो । सामान्य अवस्थामा नेपालमा मासिक करिब ४५ हजार टन एलपी ग्यास आयात हुने गरेको छ । तर वैशाख, जेठ र असारमा एलपी ग्यासको आयात घटेर करिब २७ हजारदेखि ३१ हजार टनसम्ममा सीमित भएको थियो ।
इजरायल–इरान युद्धका कारण आपूर्ति प्रभावित हुनसक्ने भन्दै आधा भरिएका सिलिन्डर मात्र बिक्री वितरण गर्ने निर्णय गरिएपछि खाना पकाउने ग्यासको माग घटेको थियो । त्यसका कारण आयात पनि घटेको थियो । साउनदेखि पूर्ण भरिएका सिलिन्डर बिक्री सुरु भएपछि खाना पकाउने ग्यासको माग अचानक बढ्दा विशेषगरी काठमाडौं उपत्यकामा आपूर्ति समस्या देखिएको थियो । यसैबीच पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक क्षति भएपछि काठमाडौं उपत्यकामा ग्यास आपूर्तिमा थप असर परेको थियो ।
काठमाडौं उपत्यकामा दैनिक करिब ४० हजार सिलिन्डर खपत हुने गरेकोमा एलपी ग्यासको आपूर्ति क्रमशः सुधार हुँदै गएको उपाध्यायले बताए । उपत्यकाबाहिर भने आपूर्ति यसअघि नै सामान्य अवस्थामा फर्किसकेको उनले जानकारी दिए ।
उनका अनुसार आसोज १ गतेदेखि कृष्णभीर खण्डमा सवारी आवागमन पूर्ण रूपमा सञ्चालनमा आएपछि एलपी ग्यास बोकेका बुलेट नियमित रूपमा काठमाडौंका बोटलिङ प्लान्टसम्म पुग्न थालेका छन् ।
“काठमाडौंमा रहेका एलपी ग्यास बोटलिङ उद्योगहरूले पनि आफ्नै प्लान्टबाट ग्यास रिफिल गरी बजारमा वितरण गर्न थालेका छन्,” उपाध्यायले भने ।
उनले आगामी दिनमा काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति थप सहज हुने विश्वास व्यक्त गरे । आईओसीबाट भइरहेको हालको आपूर्तिका आधारमा असोजमा करिब ५९ हजारदेखि ६० हजार टनसम्म ग्यास नेपाल भित्रिने अनुमान गरिएको उनले बताए ।
“तराई क्षेत्रमा खाना पकाउने ग्यासको आपूर्ति सामान्य भइसकेकाले अब हाम्रो ध्यान काठमाडौं उपत्यकामा आपूर्ति बढाउन केन्द्रित छ । काठमाडौं उपत्यकामा आपूर्ति बढाउन बाराैनीमा एनओसीका एक जना अधिकारीलाई खटाइएको छ,” उनले भने ।
समग्र बिक्री बढे पनि पछिल्ला केही सातामा काठमाडौं उपत्यकाका उपभोक्ताले बजारमा एलपी ग्यास पाउन कठिनाइ बेहोर्नुपरेको थियो । अवस्थालाई ध्यानमा राख्दै एनओसीले आईओसीसँग ग्यासको आपूर्ति बढाउन अनुरोध गरेको थियो । त्यसपछि गत वर्षको सोही अवधिको तुलनामा एलपी ग्यासको आयात बढेको हो ।
कृष्णभीरमा पहिरोका कारण मुख्य सडक अवरुद्ध भएपछि तराईका बोटलिङ प्लान्टमा ग्यास भरेर त्रिभुवन राजमार्ग र बीपी राजमार्ग हुँदै काठमाडौं उपत्यका तथा आसपासका जिल्लामा आपूर्ति गरिएको थियो ।
