काठमाडौ: आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा चट्याङ्ग र हावाहुरीसहित भारी देखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
साथै मधेस प्रदेश तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि चट्याङ्ग र हावाहुरी सहित भारी देखि धेरै भारी वर्षाको तथा कर्णाली प्रदेशको पनि थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
देशका अधिकांश स्थानमा चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ । उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बङ्गालको खाडीको मध्य भूभाग आसपासमा रहेको र उक्त प्रणाली थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातिर सर्ने देखिएको महाशाखाले उल्लेख गरेको छ ।
यसको प्रभावले आजदेखि नै कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने बताइएको छ ।
सम्भावित वर्षाको कारणले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
