काठमाडौँ:निरन्तरको हावाहुरीसहितको वर्षा तथा देशका विभिन्न स्थानमा आएको बाढीपहिरोका कारण दूरसञ्चार कम्पनीको सेवा प्रभावित भएको छ ।
कम्पनीका अनुसार भारी वर्षा र पहिरोका कारण प्राविधिक टोलीलाई प्रभावित क्षेत्रमा पुग्न कठिनाइ हुनुका साथै अप्टिकल फाइबरमा क्षति र विद्युत् आपूर्तिमा अवरोध हुँदा सेवा सञ्चालनमा समस्या आएको हो । हिमपात, वर्षा तथा बादलका कारण सोलार साइटको प्रभावकारिता घट्दा पनि सेवा निरन्तरतामा कठिनाइ भएको कम्पनीले जनाएको छ ।
कम्पनीले प्राविधिक रूपमा सिस्टमबाट गर्न सकिने मर्मतसम्भारका काम निरन्तर गरिरहेको तथा सम्भव भएका स्थानमा सेवा मर्मतको काम भइरहेको जनाएको छ । मौसममा सुधार आएपछि सम्बन्धित कार्यस्थलमा पुगेर मर्मतसम्भार गर्न प्राविधिक टोलीलाई तयारी अवस्थामा राखिएको पनि कम्पनीले जनाएको छ ।
सेवा अवरुद्ध हुँदा ग्राहकवर्गमा परेको असुविधाप्रति कम्पनीले क्षमायाचना गरेको छ । बाढी, पहिरो र निरन्तर वर्षाका कारण उत्पन्न कठिन परिस्थितिमा ग्राहकले देखाएको धैर्यताप्रति कम्पनीले आभार व्यक्त गरेको छ।
