काठमाडौँ: नेपाल खाद्य संस्थानले दशैंका लागि काठमाडौंमा शुक्रबारबाट खसी–बोका र च्याङग्रा बिक्री थाल्ने भएको छ ।
संस्थानका अनुसार आज बेलुकासम्म तराईका खसीबोका र हिमालका च्याङ्ग्रा काठमाडौं भित्रिँन शुरु गर्ने भएकाले शुक्रबार बिहान १०/११ बजेबाट थापाथली कार्यालयबाट विक्री शुरु गर्ने छ ।
यो वर्ष संस्थानले दशैंका लागि राजधानीमा दुई हजार खसीबोका र च्याङ्ग्रा विक्री वितरण गर्ने भएको छ ।
संस्थानले एक हजार खसीबोका र एक हजार च्याङ्ग्रा गरी दुई हजार चौपाया विक्री गर्ने तयारी थालेको संस्थानका प्रवक्ता शंकर सापकोटाले पहिलोक्लिकलाई बताए ।
उनले भने संस्थानले घटस्थापनादेखि विक्री शुरु गर्ने तयारी गरे पनि मुस्ताङबाट च्याङ्ग्रा ल्याउन एक दिन ढिला भएकोले बिहिबार बाट बिक्रि शुरु गर्न नसकिएको हो ।
बुधबार बेलुकासम्म हेटौैंडाबाट पहिलो चरणमा ४०० बढी खसीबोका काठमाडौं आइपुग्ने र ३०० को हाराहारीमा मुस्ताङका च्याङ्ग्रा पनि आज बेलुकासम्म काठमाडौं आइपुग्ने सापकोटाले बताए ।
च्याङ्ग्रा मुस्ताङबाट र खसी बोका दाङ्गको तुलसीपुरबाट र मकवानपुरबाट ल्याइने उनले बताए । गत साल संस्थानले २५ सय खसी बोका र च्याङ्ग्रा राजधानीमा विक्री गरेको थियो ।
यो साल खसी बोका विक्री कार्यक्रमका लागि संस्थानले तीन करोड ४९ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ । उनले भने, ” स्थानीय स्तरमा खसी बोका खरिदका लागि सिडियोको सम्मन्वयमा खरिद समितिबाट खरिद गरिएको हो । संस्थानले मूल्य निर्धारण आज बेलुका सम्म गर्ने छ । ”
उनका अनुसार गत वर्षको तुलनामा प्रतिकिलो ५/१० रुपैयाँ महँगो हुन्छ यद्यपी संस्थानले खरिद मूल्य र ढुवानी खर्चका आधारमा विक्री मूल्य तोकिनेछ। संस्थानले नाफाका लागि नभई राजधानीमा निजी क्षेत्रबाट अस्वभाविक वृद्धि हुने मूल्य नियन्त्रणका लागि विगतका वर्ष झैं यो वर्ष पनि कार्यक्रम राखिएको उनले बताए ।