काठमाडौँ: नेपाल खाद्य संस्थानले दशैंका लागि खसीबोका र च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ।
जिउँदो खसीबोका प्रतिकिलो पाँच सय रुपैयाँ र च्याङ्ग्रा सात सय रुपैयाँ किलो निर्धारण गरिएको संस्थानका प्रवक्ता शंकर सापकोटाले जानकारी दिए।
‘खसीबोका प्रतिकिलो ५१० रुपैयाँ र च्याङ्ग्रा ७१० रुपैयाँ मूल्य प्रस्ताव गरेका छौ,‘ सापकोटाले भने, ‘किलोमा १० रुपैयाँ छुट दिएर बेच्ने भएकाले खसीबोका प्रतिकिलो पाँच सय रुपैयाँ र च्याङ्ग्रा प्रतिकिलो सात सय रुपैयाँमा उपभोक्ताले पाउँछन्।‘
संस्थानले गत वर्ष खसीबोका प्रतिकिलो ४ सय ५५ रुपैयाँ र च्याङ्ग्रा प्रतिकिलो ६ सय ७५ रुपैयाँमा बिक्री गरेको थियो। खसीबोकामा प्रतिकिलो ४५ रुपैयाँ र च्याङ्ग्रामा २५ रुपैयाँ मूल्य वृद्धि भएको छ।
च्याङ्ग्राको मूल्य भने ७ सय ५० रुपैयाँ प्रतिकिलो तोकिएको काठमाडौं चौपाया खरिद बिक्रि केन्द्रका निर्देशक जीवनराज खतिवडाले बताए।
संस्थानले एक हजार खसीबोका र एक हजार च्याङ्ग्रा गरी दुई हजार चौपाया विक्री गर्ने तयारी थालेको प्रवक्ता सापकोटाले बताए ।
उनले भने संस्थानले घटस्थापनादेखि विक्री शुरु गर्ने तयारी गरे पनि मुस्ताङबाट च्याङ्ग्रा ल्याउन एक दिन ढिला भएकोले बिहिबारबाट बिक्रि शुरु गर्न नसकिएको हो ।