काठमाडौँ: बैंक तथा बित्तिय संस्थाबाट दशैंको लागि ५० अर्ब भन्दा बढी रुपैयाँ बहिरिएको छ । नेपाली जनताले दशैंको लागि बैंक तथा बित्तिय संस्थाबाट ५० अर्ब भन्दा बढी रुपैयाँ झिकेको नेपाल राष्ट्र बैंकका प्रबक्ता नारायण प्रसाद पौडेलले बताए ।
दशैंको समयमा ५० अर्ब रुपैयाँ बैंक तथा बित्तिय संस्थाबाट बाहिरिनु सामान्य हो तर त्यो झिकिएको रकम बैंकमा फिर्ता कति समयमा भैईसक्छ भन्ने कुराले बैंकिंग क्षेत्रमा अर्थ राख्ने उनले बताए।
हाल बैंकिंग क्षेत्रमा तरलताको अवस्था राम्रो भएको बताउदै उनले भने अवको एक महिनामा बैंकमा हुने पैसाको प्रबाहले बैंकिंग क्षेत्रमा तरलताको अवस्था निर्देशित हुन्छ ।
दशैंमा लगभग १२ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटहि भएको पौडेलले बताए ।
राष्ट्र बैंकले दशैका लागि सर्वसाधारणलाई नयाँ नोट असोज २१ गतेदेखि २९ गतेसम्म वितरण गरेको थियो । राष्ट्र बैंकले प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० दरका २७ हजार रुपैयाँ बराबरसम्मको नोट साट्न पाउने व्यवस्था गरेको थियो ।
हाल ५३२ अर्ब रुपैयाँ चलनचल्तीमा रहेको प्रबक्ता पौडेलले बताए ।
जनता बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत पशुराम कुँवर छेत्रीका अनुसार बैंक तथा बित्तिय संस्थाबाट अघिल्ला वर्षकै हाराहारीमानै पैसा निकाशा भएको छ ।
दशैंको समयमा ग्राहकले बैंकबाट झिकिएको रकम तीन देखि चार हप्तामा बैंकमा फिर्ता हुने उनले बताए ।
उनले भने- “अहिले बैंकको सेवा दशैंको बिदामा पनि खुल्ला रहेको र बिकट ठाउँहरुमा पनि बैंकका साखा खुलेको हुनाले समयमै बैंकमा पैसा फिर्ता हुने अवस्था रहेको हो ।”
कोहि कसैले पनि घरमा ठुलो मात्रामा नगद रकम राख्न नचाहने र बैंकबाट खर्च गर्नेको लागि रकम झिकिने हुनाले दशैंमा पैसाको प्रबाह धरै हुने छेत्रीले बताए ।
उनले भने-“दशैंमा बैंकबाट झिकिएको रकमले मात्र तरलतामा धेरै असर पर्दैन । सरकारले गर्ने खर्च बिशेष गरि पूँजीगत खर्चले बैंकिंग क्षेत्रमा र समग्र अर्थतन्त्रमा असर गर्छ । त्यसैले, सरकारले समयमा पूँजीगत खर्च गर्नु पर्छ ।”