भरतपुर : ‘मध्यरातमा एकान्तमा लगेर खाना खान गाडी रोक्यो’, काठमाडौंबाट दाङ हिँडेका यात्रु कमल नेपालीले भने, ‘खाऊँ भने थालमा किरा, नखाऊँ भने पेटमा भोकका किरा।’ चितवनको इच्छाकामना गाउँपालिका ४ लेवाटारमा सोमबार राति १२ बजे खाना खाँदै गर्दा थालमै किरा भेटिएको उनले सुनाए। उनले होटल सञ्चालकलाई यसबारे जानकारी गराउँदा पनि वास्ता नगरेको बताए।
राजमार्गका होटलले चरम लापरवाही गरेका कारण यात्रुहरू अस्वस्थ खाना खान बाध्य भएका हुन्। राजधानी भित्रिँदा र बाहिरिँदा लामो यात्रा गर्नेहरू सबैभन्दा ठूलो समस्यामा पर्ने गरेका छन्। तराईलाई राजधानी काठमाडौं जोड्ने मुख्य सडक मुग्लिन–नारायणगढ आसपासका होटलले दूषित र फोहोर खाना खुवाउने गरेको पाइएको छ।
लामो यात्राका बसले लेवाटार, कुरिनघाट, कुरिनटार, मुग्लिन, जुगेडी, रामनगरलगायत क्षेत्रमा यात्रुलाई खाना खुवाउँछन्। तिनमा बासी र फोहोर खाना खुवाउने क्रम रोकिएको छैन। ‘भोकाएको बेला सुरूमा त सरासर खाएँ’, नेपालीले भने, ‘थप खाना माग्दा किरै देखियो।’ यस्ता होटलले यात्रुको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै प्रशासनले कारबाही गर्नुपर्ने उनले बताए।
बाटोको बासी खानाले घर पुग्दा बिरामी हुनुपरेको अनुभव अर्का यात्रु बर्दियाका सन्देश रेग्मीले पनि सुनाए। ‘स्वस्थ्य अवस्थामा बस चढेको मान्छे घर पुग्दा बिरामी पर्छ’, रेग्मीले भने। नाफा मात्रै कमाउने नाममा यात्रुको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरिरहेको उनको आक्रोश छ।
यात्रुलाई खाना खुवाएबापत बस चालकलाई भत्ता दिने काम बन्द नगरिएसम्म यात्रु सधैं बासी खाना खान बाध्य हुने दाङ तुलसीपुरका नरेश चन्दले बताए। ‘हेर्दा ताजा देखिए पनि बासी खाना मिसाएर खुवाउने हुँदा विश्वासै गर्न सकिन्न’, चन्दले भने।
यात्रुलाई बासी र फोहोर खाना खुवाएको भन्दै लेवाटारका दुईवटा होटल दसैंअघि नै प्रशासनको टोलीले अनुगमन गरी बन्द गराएको छ। ‘होटल सञ्चालनका लागि आवश्यक मापदण्ड पूरा नगरेकाले दुई होटलमा सिलबन्दी गरेका छौं’, जिल्ला प्रशासन कार्यालय चितवनका खाद्य निरीक्षक प्रवीणकुमार तिवारीले भने, ‘ती खुलेका छैनन्। कानुनी प्रक्रिया र मापदण्ड पूरा गरेपछि मात्रै ती खोल्न पाउँछन्।’
यो समाचार अन्नपुर्ण पोस्टबाट लिइएको हो ।