काठमाडौँ: नेपाल र मलेसियाबीच श्रमिक आपूर्तिसम्बन्धी श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । यहाँ आज आयोजित समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाली मानव संशाधनमन्त्री एम कुलासेगरानले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
दुई देशका उच्च अधिकारीबीच भएको यस समझदारीसँगै छ महीनादेखि रोकिएको मलेसियाको रोजगारी खुल्ने भएको छ ।
लामो प्रयासपछि नेपाल र मलेसियाबीच कामदार आपूर्तिका विषयमा समझदारी भएको र त्यसका लागि मलेसियाली मानव संशाधनमन्त्री आइतबार राति नेपाल आएका थिए ।
यो सम्झौतासँगै अब नेपाली श्रमिक कुनै पनि शुल्क नतिरी मलेसिया जान पाउने भएका छन् ।
सम्झौता अनुसार भिसा प्रक्रियामा समेत कुनै पनि शुल्क लाग्ने छैन भने अन्य प्रक्रियाका लागि लाग्ने सबै खर्च रोजगारदाता कम्पनीले नै व्यहोर्ने भएका छन् ।
उक्त सम्झौता अनुसार अब श्रमिकले सबै महिनाको ७ गतेभित्र बैंक खातामा पारिश्रमिक पाउनेछन् ।
कामदारका परिवारका कुनै पनि सदस्यको मृत्यु भएका श्रमिकले १५ दिन बिदा पाउनेसमेत सम्झौतामा उल्लेख भएको मन्त्रालयले जनाएको छ ।
नेपाल र मलेसियाबीच डेढ दशकभन्दा अघिदेखि श्रम सम्बन्ध रहेपनि श्रम सम्झौता हुन सकेको थिएन । विभिन्न समयमा श्रम सम्झौताको प्रयास भए पनि त्यसले मूर्तरुप लिन सकेको थिएन ।