काठमाडौँ: सर्लाहीको रामनगरमा आज नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ।
सर्लाहीको रामनगर–४ मा नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपका क्रममा गोली चल्दा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षीय रामविलास महतो छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार रामनगर गाउँपालिका ४ मा बिहान साढे ८ बजेतिर दुई पार्टीका कार्यकर्ताबीच झडप भएको थियो।
घटनालाई नियन्त्रणमा लिन प्रहरीले पनि हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो। सोमबार नेकपा कार्यकर्ताले रामनगर ४ का वडाअध्यक्ष रामनरेश महतोलाई हातपात गरेको विषयमा झगडा भएको थियो।
प्रहरीले दिएको जानकारी अनुसार थप ४ जनालाई पनि गोलीको छर्रा लागेको छ । अज्ञात व्यक्तिले भरुवा बन्दुक चलाउँदा रामविलासको मृत्यु भएको र गोली चलाउने व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
घटनापछि सर्लाहीमा व्यापक प्रहरी परिचालन गरिएको छ ।