काठमाडौँ: पहाडी भेगमा उपभोक्ता मुद्रास्फीति बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा पहाडी क्षेत्रमा पाँच प्रतिशतले मूल्यवृद्धि भएको पाइएको हो ।
गत भदौको क्षेत्रगत उपभोक्ता मुद्रास्फीतिअनुसार उपभोक्ता मुद्रास्फीति तराईमा ३.७, हिमालमा ३.४ र काठमाडौँ उपत्यकामा ३.० प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति पहाडमा ३.४, तराईमा ३.८, हिमालमा ५.४ र काठमाडौँ उपत्यकामा २.८ प्रतिशत रहेको थियो ।
यस्तै वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.९ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ३.४ प्रतिशत थियो । गैर–खाद्य तथा सेवा समुहको मूल्य वृद्धिका कारण समीक्षा अवधिमा समग्र मुद्रास्फीतिमा केही दवाव सिर्जना हुन गएको छ ।
यस्तै गत भदौमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति १.४ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त समुहको मुद्रास्फीति १.८ प्रतिशत थियो । खासगरी दलहन तथा गेडागुडी, तरकारी एवं चिनीजन्य वस्तुको मूल्यमा आएको गिरावटका कारण समीक्षा अवधिमा समग्र खाद्य तथा पेयपदार्थको मुद्रास्फीति अघिल्लो वर्षको तुलनामा कम भएको हो । गैर–खाद्य तथा सेवा मुद्रास्फीति समीक्षा अवधिमा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.८ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति ४.७ प्रतिशत रहेको थियो ।
यस समूहअन्तर्गत यातायात, फर्निसिङ, घरायसी उपकरण एवं कपडा तथा जुत्ता–चप्पललगायत वस्तु तथा सेवाको मूल्य बढेका कारण समग्र गैर–खाद्य तथा सेवा मुद्रास्फीति वृद्धि भएको हो ।
गत भदौमा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.९ र भारतको ३.८ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति ३.४ प्रतिशत र भारतको ३.३ प्रतिशत रहेको थियो । सोही अवधिमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ८.७ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति १.५ प्रतिशत थियो । खासगरी पेट्रोलियम पदार्थ, आधारभूत धातु तथा कपडा लगायतका वस्तुको मूल्यमा भएको वृद्धिका कारण समग्र थोक मुद्रास्फीति बढ्न गएको केन्द्रीय बैंकले जनाएको छ ।