काठमाडौँ: चालू आर्थिक वर्षको पहिलो दुई महिनामा रेमिट्यान्स आय ३३.४ प्रतिशतले वृद्धि भई १५४ अर्ब २० रुपैयाँ करोड पुगेको छ । सोहि अवधिमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले बढेको थियो । डलर मजबुतहुँदा विप्रेषण आप्रवाहमा उल्लेख्य वृद्धि भएको हो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह २२.३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.२ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर आय ३४.१ प्रतिशतले वृद्धि भई रु.१७५ अर्ब ३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.३ प्रतिशतले बढेको थियो ।
अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ४१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७.२ प्रतिशतले घटेको थियो ।
वस्तु आयातमा भएको उच्च वृद्धिका कारण समीक्षा अवधिमा चालू खाता घाटा विस्तार भई ३५ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १९ अर्ब ७४ करोड रुपैयाँ रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको दुई महिना १९ करोड २६ लाख डलर रहेको चालु खाता घाटा समीक्षा अवधिमा ३२ करोड १ लाख डलर पुगेको छ ।
समीक्षा अवधिमा शोधनान्तर घाटा २५ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । यस्तो घाटा अघिल्लो वर्षको सोही अवधिमा ५ अर्ब ८७ करोड रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर घाटा अघिल्लो वर्षको दुई महिनामा ५ करोड ७३ लाख डलर रहेकोमा समीक्षा अवधिमा २३ करोड ९ लाख डलर रहेको छ ।