ठमाडौँ: मध्यभोटेकोशी जलविद्युत् कम्पनीले आजदेखि एक अर्ब ४४ करोड रुपैयाँ बराबरको १४ करोड ४० लाख कित्ता सीमित साधारण शेयर(आइपिओ) बिक्री खुला भएको छ ।
कम्पनीले पहिलो चरणमा रु १०० अङ्कित दरका एक करोड ४४ लाख कित्ता साधारण शेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट गत असोज २९ गते स्वीकृति लिएको थियो । कर्मचारी सञ्चयकोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ताका लागि एक करोड १७ लाख कित्ता, संस्थापक सङ्गठित संस्थाका कर्मचारीका लागि २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि छ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो ।
कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ । कम्पनीको अधिकृत पूँजी रु छ अर्ब २१ करोड रहेको छ भने जारी पूँजी रु छ अर्ब रहेको छ ।
आइपीओमा सञ्चयकर्ताहरुले मंसिर १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
सेयर भर्दा आफ्नो कर्मचारी परिचयपत्र तथा सञ्चयकर्ताले सञ्चयकर्ता परिचयपत्र पेश गर्नुपर्नेछ । आवेदकको सीआरएन र डिम्याट खाता अनिवार्य हुनुपर्नेछ । सञ्चयकर्ताको हकमा २०६८ मंसिर २२ मा कायम रहेका र सो पश्चात २०७५ असोज २९ भित्र कायम रहेका सञ्चयकर्ताले आवेदन दिन पाउनेछन् ।
यस आइपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक तथा सिभिल क्यापिटल, एनआइबीएल एस क्यापिटल, सीबीआइएल क्यापिटल, सानिमा क्यापिटल, प्रभु क्यापिटल र लक्ष्मी क्यापिटलले सह–बिक्री प्रबन्धकको रुपमा काम गर्नेछन् ।