काठमाडौं : मेलम्चीको इटालियन ठेकेदार सीएमसीलाई फकाउने सरकारको लगातार तीन दिनको प्रयास बुधबार पनि असफल भएको छ।
खानेपानी मन्त्रालयमा ठेकेदार र मन्त्रालयका पदाधिकारीबीच बुधबार दिनभर भएको वार्ता बिना निष्कर्ष टुंगिएको हो। मन्त्रालय स्रोतका अनुसार सरकारले ठेकेदारलाई तिर्नुपर्ने ३६ करोड रुपैयाँ किस्ताबन्दीमा दिने प्रस्ताव गरेको थियो।
सीएमसीले आपूmलाई नगद प्रवाहमा समस्या परेको भन्दै एकैपटक तिर्नुपर्ने अडान राखेपछि वार्ता निष्कर्षविहीन भएको हो। वार्ता आज बिहीबार पनि हुनेछ।
ठेकेदारले गरेको दाबी रकम एक अर्ब ६१ करोडमध्ये दुवै पक्षका प्रतिनिधि सम्मिलित विवाद निरुपण बोर्ड (डीआरबी) ले सरकारले ३६ करोड रुपैयाँ तिर्नुपर्ने फैसला गरेको थियो।
उक्त निर्णयअनुसार ठेकेदार रकम पाउन खानेपानी मन्त्रालय र मेलम्ची आयोजनालाई ताकेता गर्दै आएको थियो। तर खानेपानी सचिव गजेन्द्र ठाकुर र आयोजना प्रमुख सूर्यप्रकाश कँडेलले विभिन्न्न बहानावाजी गर्दै भुक्तानी नदिएपछि ठेकेदारले आप्mना सबै कर्मचारी र कामदारलाई सिन्धुपाल्चोकस्थित मेलम्ची साइटबाट काठमाडौं उतारेको थियो।