काठमाडौं, भदौ २४ गते: ललितपुरको सातदोबाटोस्थित पौडी पोखरी परिसरमा ‘जेनजी स्मृति पार्क’ निर्माण गरिएको छ ।
जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा निर्माण गरिएको पार्कको आज औपचारिक रूपमा उद्घाटन गर्ने कार्यक्रम छ ।
उद्घाटनका लागि गृहमन्त्री सुधन गुरुङ जेनजी स्मृति पार्क पुगिसकेका छन् ।
तर निर्माण गरिएका सालिकहरू आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको अनुहारसँग मेल नखाएको भन्दै उनीहरूका परिवारजनले आपत्ति जनाएका छन् ।

पार्क उद्घाटनमा सहभागी हुन पुगेका शहीदका आफन्तहरूले वास्तविक व्यक्तिको अनुहारसँग सालिक नमिलेको भन्दै आपत्ति जनाएका छन् ।
उनीहरूले भनेका छन्, ‘निर्माण गरिएका सालिकसँग आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको अनुहारसँग मेल खाँदैन । सालिक बनाउन लापरबाही गरिएको छ ।’
उद्घाटन गर्न लागिएको जेनजी पार्कमा गत वर्षको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका ४५ जनाको सालिक निर्माण गरिएको छ ।

पौडी पोखरी परिसरको दुई रोपनी जग्गामा निर्माण गरिएको पार्कलाई शहीदहरूको स्मृति, राष्ट्रियता र सामूहिक स्मरणसँग जोड्ने गरी डिजाइन गरिएको सरकारले बताएको छ ।
