काठमाडौँ: सरकारले दुई बुँदे सहमति गरेपछि गंगामाया अधिकारीले ४५औं दिनमा अनसन स्थगित गरेकी छन् ।
गत जेठ १५ गतेदेखि वीर अस्पतालमा अनसन बसेकी अधिकारीलाई राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएर अनसन तोडाएका हुन्। गंगामायाँलाई कानुनमन्त्री शेरबहादुर तामाङले हस्ताक्षरसहि दुई बुँदे पत्र दिइपछि उनी अनसन तोड्न राजी भएकी हुन्।
पत्रमा २०७२ असोजमा जनाएको पाँच बुँदे प्रतिवद्धता कार्यान्वयन गर्ने उल्लेख छ । साथै त्यसको अनुगमन गरी प्रतिवेदन बनाउन सरकार र गंगामायाले तोकेको प्रतिनिधि रहेको अनुगमन समिति बनाउने पनि पत्रमा उल्लेख छ ।
अनसन तोड्दै गंगामायाले यो १० दिनमा केही प्रगति भएन भने फेरि अनसन बस्ने बताएकी छिन । उनले छोराको हत्याराहरु तत्काल पत्ता लगाउन आग्रह गरिन् । उनले केही दिनअघि गिरफ्तार गरिएका गोरखा फुजेलका छबिलाल पौडेललाई जेलमै गएर भेटेर मात्र सरकारको कदम पत्याउने बताइन् ।
गंगामायाले छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै आएकी छन् । वीर अस्पतालमा अनसनकै क्रममा गंगामायाका पति नन्दप्रसाद अधिकारीको केही वर्ष अघि निधन भएको थियो भने छोरा नुरप्रसाद वेपत्ता छन् ।