काठमाडौँ:खानेपानीमन्त्री बीना मगरले मेलम्ची आयोजनाको बाँकी कामलाई तीव्रता दिन मेलम्ची खानेपानी विकास समितिका अधिकारीलाई निर्देशन दिएका छन् ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलसहितका अधिकारीलाई मन्त्री मगरले आयोजनास्थलमै खटिएर निर्धारित समयमै काम सक्न निर्देशन दिनुभएको मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।
मेलम्ची आयोजनाको काम छाडेर हिँडेको ठेकेदार कम्पनी सिएमसीबाट बाँकी भुक्तानी पाउन स्थानीय ठेकेदारले दाबी गरेको रकमका सन्दर्भमा अध्ययन गरी प्रतिवेदन पेश गर्न मन्त्रालयका सहसचिव चन्द्रबहादुर केसीको संयोजकत्वमा एक समितिसमेत गठन गरिएको छ । आयोजनाका प्रमुख कँडेलले ठूला प्याकेजका कामको ठेक्का सम्झौता गर्ने तयारी अन्तिम चरणमा रहेको बैठकमा जानकारी दिएका थिए।