अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका र इरानबीचको युद्ध अन्त्य भएको दाबी गरेका छन् । दुवै पक्षबीच युद्ध रोक्न एउटा अत्यन्तै बलियो समझदारी पत्रमा सहमति भएको उनको दाबी छ । तर, तेहरानले भने हालसम्म कुनै पनि सम्झौतालाई आधिकारिक रूपमा पुष्टि गरिसकेको छैन ।
जर्जियाका लेफ्टिनेन्ट गभर्नर बर्ट जोन्सको समर्थनमा आयोजित एक टेलिर्यालीलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘तपाईंहरूले सुन्नुभयो कि नाइँ कुन्नि, तर हामीले आज इरानसँगको युद्ध अन्त्य गरेका छौँ । उनीहरू आणविक हतियार कहिल्यै नबनाउन सहमत भएका छन्, जसमा हामीले जोड दिएका थियौँ र हाम्रो सम्पूर्ण उद्देश्य नै यही थियो । सम्झौताको ९५ प्रतिशत हिस्सा यही नै हो ।’
ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत इरानमाथि गर्ने भनिएका थप सैन्य आक्रमणहरू रद्द गरेको जानकारी दिएका छन् । तर, उनले सम्झौताका विस्तृत सर्तहरू भने खुलाएएका छैनन् । ट्रम्पले यो पूर्ण रूपमा टुङ्गोमा नपुगेसम्म इरानी बन्दरगाहहरूमा आउने र जाने जहाजहरूमाथि अमेरिकी नाकाबन्दी भने जारी रहने स्पष्ट पारेका छन् ।
इरानले अमेरिकी राष्ट्रपतिले सैन्य कारबाही रद्द गरेको कुरालाई स्वीकार गरे पनि तेहरानमा अझै ठूलो मात्रामा अविश्वास र शङ्का व्याप्त छ । इरानले यसअघि नै चेतावनी दिइसकेको छ कि उनीहरूमाथि हुने कुनै पनि आक्रमणको गम्भीर परिणाम हुनेछ र त्यसले सम्झौताको दिशामा भइरहेको प्रगतिलाई भत्काउनेछ ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता एस्माएल बाघेईले सरकारी समाचार एजेन्सी ‘इर्ना’सँग कुरा गर्दै अमेरिका र इरानबीच सम्झौता फाइनल भइसकेको भन्ने रिपोर्टहरू केवल अनुमान मात्र भएको बताए । ‘अहिलेसम्म इरानले कुनै पनि सम्झौताको सम्बन्धमा अन्तिम निर्णय गरिसकेको छैन । शुरूदेखि नै वार्ताको स्थिति हाम्रो लागि स्पष्ट थियो र मस्यौदाको ठूलो हिस्सा फाइनल भइसकेको थियो । तर, अमेरिकीहरूले लगातार आफ्नो अडान बदलिरहेका छन् ।’
बाघेईले कतार र पाकिस्तान मध्यस्थकर्ताको रूपमा सक्रिय रहेको जानकारी दिँदै अमेरिकी कदमहरूले कूटनीतिक प्रक्रियालाई प्रभावित पारिरहेको गुनासो गरे । इरानले आफ्ना ‘रेड लाइन्स’ (लक्ष्मण रेखा) मा कुनै सम्झौता नगर्ने कुरा प्रमाणित गरिसकेको पनि उनले दाबी गरे । साथै, अमेरिकी कदमका कारण ‘स्ट्रेट अफ हर्मुज’को सुरक्षा अवस्था कमजोर बनेको उनीहरूको भनाइ छ ।
ट्रम्पका अनुसार कागजातहरू फाइनल भएपछि सम्भवतः युरोपमा यसको हस्ताक्षर समारोह हुनेछ र यो चाँडै नै सम्पन्न गरिनेछ । उनले सम्झौतामा हस्ताक्षर हुनासाथ ‘स्ट्रेट अफ हर्मुज’ पनि खुला गरिने बताए ।
ट्रम्पको यो बयान सार्वजनिक भएलगत्तै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । ब्रेन्ट क्रूडको मूल्य प्रति ब्यारेल करिब ८९ डलरमा ओर्लिएको छ, जुन अघिल्लो दिनको तुलनामा ४.४ प्रतिशतको गिरावट हो।
यद्यपि, इजरायली प्रधानमन्त्रीको कार्यालयले नेतान्याहु र ट्रम्पबीच कुराकानी भएको पुष्टि गरे पनि इजरायल यो समझदारी पत्रको पक्ष नरहेको स्पष्ट पारेको छ । नेतान्याहुको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री नेतान्याहुले ट्रम्पको प्रतिबद्धताप्रति प्रशंसा व्यक्त गर्नुभयो, जसअन्तर्गत अन्तिम सम्झौताले तेहरानको संवर्धित युरेनियम हटाउने, आणविक पूर्वाधार नष्ट गर्ने, मिसाइल उत्पादन सीमित गर्ने र क्षेत्रीय प्रोक्सीहरू (लडाकु समूह)लाई इरानले दिँदै आएको समर्थन बन्द गराउनेछ ।’
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि व्यापक हवाई आक्रमण गरेपछि दुई देशबीचको तनाव उत्कर्षमा पुगेको थियो । जवाफमा इरानले इजरायल र खाडी मुलुकहरूमा रहेका अमेरिकी सहयोगीहरूमाथि आक्रमण गर्नुका साथै विश्वकै प्रमुख तेल ढुवानी मार्ग ‘स्ट्रेट अफ हर्मुज’ बन्द गराएको थियो ।
गत अप्रिलमा युद्धविरामको सहमति भए तापनि अमेरिका र इरानबीच छिटपुट गोलाबारी जारी थियो । यसै हप्ता मात्र दुवै पक्षले एकअर्कामाथि जवाफी हमला गरेका थिए । आक्रमणको धम्की दिएको केही घण्टामै ट्रम्पले सम्झौताको घोषणा गर्नुलाई इरानले अमेरिकी रणनीतिको रूपमा हेरेको छ ।
