काठमाडौं : भक्तपुरको लोकन्थलीमा पानी ट्यांकी खन्दा पहिरो गएको छ ।
बाटोमै गएको पहिरोका कारण जोखिमयुक्त एक घर खाली गरिएको छ । अन्य चार घर पनि पहिरोकै जोखिममा छन ।
पहिरोका कारण पैदल यात्रीलाई समेत समस्या परेको छ ।
आज मंगलबार बिहान पौने २ बजेतिर पहिरो खसेको स्थानीयले बताए ।
पहिरोबारे यतिबेला जिल्ला सुरक्षा समितिमा छलफल चलिरहेको मध्यपुरठिमी नगरपालिका वडा नम्बर १ का अध्यक्ष सुरज खड्काले जानकारी दिए ।
खानेपानीको समस्या भोग्दै आएका मध्यपुरठिमी नगरपालिकाको वडा नम्बर १, २ र ३ लक्षित पाँच लाख लिटर क्षमताको ट्यांकी बनाउने काम नसकिँदै पहिरो गएको हो ।
गत वैशाख महिनाबाट ट्यांकी खन्न थालिएपछि वर्षाका कारण त्यो पूरा हुन सकेको थिएन ।
भिरालो स्थानमा खनिएको पानी ट्यांकीकै स्थानमा हिजो राती परेको ठुला वर्षाले गर्दा पहिरो गएको हो ।