काठमाडौँ : नेवारी समुदायको ठूलो जात्रा इन्द्रजात्रा अझै जारी छ ।
रथयात्रा, लाखेनाचहरु चलिरहेको छ । इन्द्रजात्रा शुरु भएदेखि नसकिँदासम्म विभिन्न देवीदेवता तथा भैरवको मूर्ति बाहिर निकालिएको छ ।
जात्रा भरका लागि मूलघरवाट बाहिर निकालिएको मूर्तिलाई दैनिक पूजापाठ गरिन्छ ।
वसन्तपुर वरपर सजाएर राखिएको मूर्तिमध्ये आकाश भैरव पनि एक हो इन्द्रचोकमा सजाएर राखिएको आकाश भैरवलाई किराँत वंशी प्रथम राजा यलम्बरको अवशेषका रूपमा मानिन्छ ।
नौ दिनसम्म भैरवको मूर्तिलाई बाहिर राखिन्छ ।
एकादशीको दिन आकाशभैरवको मूर्ति राखिने खट तयार गरेर द्वादशीको दिनमा भैरवको मूर्ति सफा गरी बाहिर निकालिन्छ ।
द्वादशीको दिनदेखि बाहिर निकालिएको भैरवको मूर्ति एकैचोटि दशौँ दिन अर्थात् कृष्ण चतुर्थीका दिनमा मात्रै मूलस्थानमा लगिने आकाश भैरव गुठीका अध्यक्ष शरदकुमार डङ्गोलले जानकारी दिए ।
उनका अनुसार १० औँ दिनसम्म विभिन्न विधिबाट भैरवको पूजा गरिन्छ । त्यस्तै विधिअनुसार शनिबार अर्थात् पूर्णिमाको दिनमा साइतअनुसार भैरवको मुखबाट पाँच जिउँदो माछा बगाइएको छ ।
माछा बगाउने दिनमा रथयात्रा माथिल्लो टोलमा हुने गर्छ । माथिल्लो टोलमा रथयात्रा गरिने मार्गमा इन्द्रचोक पनि पर्छ ।
भैरवको मुखबाट लामो जाल बनाएर जालमा जाँड राखेर माछा बगाउने गरिन्छ ।
मूर्ति राखिएको खटमुनि पर्ने पातालपुरमा रक्सीसँगै माछा बगाउने विधि सम्पन्न भएको छ ।
भैरवको मूर्तिमा जाँड छर्कने काम गरिन्छ तर श्वेत भैरवको मूर्तिबाट भने जाँड नै बगाएर दर्शनार्थीले खाने गर्छन् ।
माछा बगाउने समयमा भैरवको मूर्तिमा फूल हुँदैनन् तर रथयात्राका क्रममा फूलैफूलले ढाकिएको हुन्छ ।
भैरवको गला विभिन्न प्रजाति र रङका फूलले सजाइएको हुन्छ । पहिले पहिले फूल पाउन सहज थियो तर आजकल गाह्रो हुने गरेको डङ्गोलले बताए ।
उनका अनुसार आफन्तले ल्याएका फूल भैरवको मूर्तिमा सजाइने गरिन्छ ।
दिनैपिच्छे फरक फरक फूलले मूर्ति सजाउनुपर्छ । एक दिन मूर्तिमा राखिएको फूल अर्को दिनका लागि प्रयोग गर्न मिल्दैन ।
भैरव गुठीमा रहेका ६२ जनामध्येमा प्रत्येक वर्ष हुने जात्रापर्वका लागि आठ आठ जनाको जिम्मेवारी रहने गर्छ ।
बाहिर निकालिएको भैरवको मूर्तिमा हरेक दिन परम्परानुसार पूजा गरिन्छ । विधि र समयअनुसार बिहान, दिउँसो र राति गरी तीन पटक मूर्तिमा पूजा गरिन्छ ।
यलम्बर र कृष्णको सम्बन्ध
किंबदन्तीअनुसार इन्द्रचोकस्थित आकाश भैरवलाई काठमाडौँ उपत्यकाका किराँतवंशी राजा यलम्बरको अवशेषका रूपमा मानिन्छ ।
भैरवलाई महादेवको रुद्र रूपमा समेत मान्ने गरिन्छ ।
गुठीका अध्यक्ष डङ्गोलका अनुसार यलम्बर र महाभारत युद्धको समेत सम्बन्ध रहेको भन्ने गरिन्छ ।
यलम्बर अर्थात् भैरव महादेवको रुद्र रूप लिएर महाभारत युद्ध हेर्न आफ्ना सेना र गण सहित कुरुक्षेत्र पुगेका थिए ।
कुरुक्षेत्र जाने क्रममा यलम्बरको भेट कृष्णसँग भयो । कृष्णसँग भेट भएपछि यलम्बरले महाभारत युद्ध हुँदै गरेकाले हेर्न जान लागेको बताए ।
कृष्णले महाभारतको युद्ध गर्ने कुरा परिकल्पना मात्रै गरेका थिए ।
यलम्बरको कुरा सुनेर अचम्मित हुँदै युद्धमा कसको पक्ष समर्थन गर्छौ भनी सोधे ।
यलम्बरले युद्ध हार्नेको पक्षमा समर्थन हुने बताए ।
युद्धमा पाण्डवलाई जिताउने कल्पना गरेका कृष्णलाई कौरवले हारेमा र यलम्बरले आफ्ना सैनिकसहित युद्धमा सहभागी भएमा अनर्थ हुने भन्दै रोक्ने योजना बनाए ।
यलम्बरलाई रोक्ने योजना बनाएर कृष्णले छल गरे । छल गर्ने क्रममा कृष्णले यलम्बरसँग खेल खेल्दा “तिमी त बलवान् रहेछौ, म तिमीलाई वरदान दिन्छु” भने।
यलम्बरले उल्टै “म तिमीलाई वरदान दिन्छु, माग” भने ।
कृष्णले सोचेजस्तो भएपछि खुशी हुँदै यलम्बरसँग “म तिम्रो टाउको छेदन गर्न पाऊँ” भनी वर मागे ।
वाचामा हारिसकेका यलम्बरले कृष्णलाई युद्ध हेर्न पाउने गरी वरदान दिए ।
कृष्णले यलम्बरको टाउको आकाशमा झुन्डाएर युद्ध हेर्न दिएछन् । युद्ध सकिएपछि त्यही टाउको काठमाडौँमा आएर बसेको र आकाश भैरव रूपमा विराजमान भएको मानिन्छ ।
विधिवत् रूपमा यही भदौ २४ गते हनुमानढोकास्थित तलेजुको मन्दिरको अगाडि रहेको कालभैरवको मन्दिरमा लिङ्गो उठाएपछि विधिवत् रुवमा जात्रा शुरु भएको थियो ।
जात्राको चौथो दिनलाई मुख्य दिनका रूपमा समेत लिइन्छ । इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यका अनुसार जात्रामा विभिन्न २९ गुठीले सहकार्य गर्दै आएका छन् ।
वसन्तपुर र आसपास क्षेत्रका कुमारी, गणेश, भैरव, लाखे, हलचोक भैरव, आकाश भैरव, पुलुकिसी , लाखेनाच, श्वेत भैरव, स्वच्छन्द भैरव, अशोकविनायक, दाँगी, किसिचा, कुमारी देवी, महाकालीलगायत गुठीले इन्द्रजात्रा व्यवस्थापन गर्छन् ।