काठमाडौँ : शिख धर्मावलम्बीका प्रवर्तक श्री गुरु नानकको स्मरणमा सिक्का प्रकाशन हुँदैछ ।
५५०औँ जन्मजयन्तीका अवसरमा नेपाल राष्ट्र बैंकले सिक्का प्रकाशन गर्ने भएको हो ।
गुरु नानकले धर्मका माध्यमबाट समाजिक विकासमा योगदान गरेका कारण बैंकले सम्मानस्वरुप उहाँको स्मरणमा सिक्का ल्याउन लागेको छ ।
रू १० हजार, रू एक हजार र रू १०० मूल्यका १० हजार सिक्का असोजको दोस्रो सातासम्ममा प्रकाशन गर्न लागिएको बैंकका उपनिर्देशक थानेश्वर आचार्यले जानकारी दिए ।
बैंकले विभिन्न कालखण्डमा समाजका विभिन्न तह तथा क्षेत्रबाट मुलुकको विकास र प्रगतिमा भूमिका निर्वाह गरेका ऐतिहासिक व्यक्ति तथा संस्थाका नामबाट सिक्का प्रकाशन गर्दै आएको छ ।
सन् १४६९ अप्रिल १५ मा लाहोर नजिकै तलबन्डी गाउँमा जन्मेका गुरु नानकले शिख दर्शन र साहित्यको प्रवद्र्धन गरेका थिए ।
उनको गाउँ ननकानाका नामले प्रख्यात छ । ननकाना पहिले भारतमा थियो तर विभाजनपछि हाल यो पाकिस्तानमा छ ।
धार्मिक गतिविधिका माध्यमबाट उनले तत्कालीन समाजमा जातीय विभेदको अन्त्य गरी न्याय, समानता, भ्रातृत्व कायम गरेका थिए ।
धर्म रक्षाका लागि मार्गदर्शन गरेका नानकको दशौँ अवतारका रुपमा गुरु गोविन्द सिंहलाई मानिएको छ ।
शान्ति, अहिंसा, परोपकार, स्वाभिमानजस्ता विषयवस्तुलाई महत्व दिइएको छ ।