महोत्तरी: “बौवा, बुझायत छल, जे आब बुढारी नर्क भगेल, मुदा, आँइखक रोशनी हमरा नव जिनगी देलक” (लाग्दथ्यो, बुढ्यौली उमेर नर्क (अति कष्टकरको अर्थमा) बन्यो, तर आँखाले ज्योति पाएपछि फेरि नयाँ जीवन पाएझैँ लागेको छ) भर्खरै केही दिनअघि शल्यक्रियापछि आँखाको ज्योति पुनः पाएका महोत्तरी, गौशाला नगरपालिका–२ निगौलको दलित बस्तीका ७५ वर्षीय विश्वनाथ पासवानले खुशी हुदै भने ।
आँखामा मोतियाविन्दु भएर पछिल्ला पाँच÷छ वर्षदेखि वरपर घुमफिर र दिसापिसाब गर्न पनि घरपरिवारका अन्यको सहाराले चलेका पासवान गत कात्तिक २७ गते शल्यक्रिया सम्पन्न भएयता भने अब आफैँ हिँड्डुल गर्न सक्ने भएका छन्। “नई सोचल सुख हमराई बुढारीमें भेटल (मैले नसोचेको सुख यो बुढ्यौलीमा पाएँ) पासवानले भने ।
पासवानजस्तै जिल्लाको भङ्गाहा नगरपालिका–७ मेघनाथ गोरहन्नाकी ७० वर्षीया जितनीदेवी थारू र औरही नगरपालिका–१ दलित बस्तीकी ६० वर्षीया चोल्हियादेवी महरासहित ८३१ जनाले गुमेको आँखाको ज्योति पछिल्ला १० महिनाबीचमा पाएका छन् । “कई साल सँऽअन्हारमें छली, जिनगी भारी लगैछल” (कति वर्षदेखि अँध्यारै÷अँध्यारो थियो, जिन्दगी नै गह्रुङ्गो लाग्थ्यो) मेघनाथ गोरहन्नाकी जितनीदेवी थारूले भन्नुभयो, “आब जिवके ललसा जागल, बुझायत अछि, जे दुनिंयाँहमरेसभक देखके लेल बनलअई” (अब भने बाँचिरहने आस जाग्यो, अब लाग्दैछ, यो संसार हामीलाई हेर्नकै लागि हो) ।
पछिल्लोपटक हिमालयन आई केयर फाउण्डेशन भक्तपुरको सहकार्यमा बर्दिवास आँखा अस्पतालले जिल्लाका ग्रामीण भेगलाई लक्षित गरी सन् २०१९ को मार्चदेखि सञ्चालन गरेको आँखा जाँच र शल्यक्रियासहितको निःशुल्क उपचारको प्रबन्धले अहिलेसम्म जिल्लाका ८३१ जनाले शल्यक्रियाबाट गुमेको आँखाको ज्योति पाएका हुन्
जिल्लाका ग्रामीण भेगका गरीब बस्तीमा मोतियाविन्दुका बिरामी बाक्लै भेटिएपछि उनीहरुको उपचारका लागि हिमालयन आई केयर फाउण्डेशनसँग सहकार्य गरेर गत मार्चदेखि हालसम्म ८३१ को शल्यक्रिया गरिएको बर्दिवास आँखा अस्पतालले जनाएको छ । तीमध्ये ७५५ को मोतियाविन्दु र ७६ को आँखामा मासु पलाएको समस्या रहेको बर्दिवास आँखा अस्पताल सञ्चालक बोर्डका अध्यक्ष मुकुन्दप्रसाद पौडेलले बताए ।
जिल्लामा आँखाका बिरामीको पहिचान गर्न गत मार्चयता हालसम्म विभिन्न ३७ ठाउँमा आँखा जाँच शिविर सञ्चालन गरिएको छ । शिविरमा जम्मा सात हजार ३५३ को आँखा जाँच गरिएमध्ये एक हजार २४४ जनामा शल्यक्रिया गर्नुपर्ने पाइएको अध्यक्ष पौडेलको भनाइ छ । शल्यक्रिया गरिनुपर्नेमा एक हजार ७९ मोतियाविन्दु, १४४ आँखामा मासु पलाएका र २१ जलविन्दुका बिरामी पाइएको अस्पतालले जनाएको छ । यो सङ्ख्यामध्ये ८३१ को शल्यक्रिया सम्पन्न भएर अब ४१३ को शल्यक्रिया गर्न बाँकी छ ।
शल्यक्रिया सीटी आई केयर अस्पताल भक्तपुरमा कार्यरत आँखा चिकित्सक डा लीलाराज पुरी, डा अर्जुन श्रेष्ठ र डा दीपक खड्काले बर्दिवास आँखा अस्पतालमा गर्दै आएका छन् । जम्मा एक हजारको शल्यक्रिया गरिने हिमालयन आई केयर फाउण्डेशनसँगको सम्झौताअनुसार त्यस्ता बिरामीको सङ्ख्या २४४ ले बढेको छ । यो सङ्ख्याको निःशुल्क शल्यक्रियाका लागि सम्बन्धित स्थानीय तह र अन्य सहयोगी निकायको खोजी भइरहेको बर्दिवास आँखा अस्पतालले जनाएको छ ।
यसबीचमा शिविरमा भेटिएका सामान्य प्रकृतिको आँखासम्बन्धी समस्या भएका बिरामीलाई औषधि खान र लगाउन सुझाव दिइएको र शल्यक्रिया गरिनुपर्नेलाई भने उनीहरुको ल्यावटेष्ट, चिकित्सकलाई दिइने शुल्क, यस अवधिको आवश्यक औषधि र शल्यक्रियापछि केही दिनसम्म लगाउनुपर्ने कालो चश्मासमेत निःशुल्क उपलब्ध गराइएको छ । यस अवधिका लागि छानिएका बिरामीको यही डिसेम्बर महिनाभित्रै शल्यक्रिया गरिने अस्पतालका अध्यक्ष पौडेलले बताए ।