चितवन: भ्रमण वर्ष सन २०२० लाई लक्षित गर्दै सौराहामा आउने पर्यटकलाई रात्रिकालीन सफारीसहित चेपाङ खाना खुवाउँदै उनीहरुको संस्कृति देखाउने तयारी गरिएको छ । दिनको समयमा निकुञ्ज सफारी गरेर रमाउने र साँझमा थारु संस्कृति हेर्नका लागि अहिले पर्यटक सौराहा आउने गरेका छन् ।
रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनका अनुसार सौराहाबाट राप्ती नदी ड्यागको बाटो हुँदै लोथरसम्म रात्रिकालीन सफारी गर्ने तयारी गरिएको छ । करिब १८ किलोमिटरको दूरी हुने उनले जानकारी दिनुभयो । लोथर क्षेत्रमा चेपाङ संस्कृतिमा पर्यटकलाई आकर्षित गर्दै खाना खुवाइनेछ । चेपाङले वनमा फलेका र उब्जिएका अन्नपात, गिठ्ठा, भ्याकुरलगायतको खाना तयार गर्ने र सोही खानामा पर्यटक रमाउने अपेक्षा गरिएको छ ।
प्रमुख वनले रातको समयमा बत्तीको उज्यालोमा वन्यजन्तुको अवलोकन गर्दै पर्यटकलाई नयाँपन दिलाउन लागिएको जानकारी दिए । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले करिब तीन घण्टाको रात्रिकालीन सफारीसँगै चेपाङ संस्कृति र खानामा रमाएका पर्यटक फर्किएर सौराहामा बास बस्ने बताए । यसबाट पर्यटकको बसाई लम्ब्याउन सकिने र नयाँपन दिन सकिने उनको भनाइ थियो ।
रात्रिकालीन सफारीका क्रममा पर्यटकले त्यस क्षेत्रका अन्य महत्वका क्षेत्र पनि हेर्न चाहेमा पाउनेछन् । केही दिनमा नै त्यस क्षेत्रको स्थलगत अध्ययन गरी भ्रमण वर्षसँगै नयाँ प्याकेजका रुपमा अघि सारिने उहाँको भनाइ थियो । लागत खर्चका आधारमा होटलले पर्यटकसँग रकम लिने छन् ।
यसैगरी सौराहा आसपासका थारु बस्तीमा पर्यटकलाई साइकलमा घुमाइनेछ । झुवानी, बच्छौली, थारु सङ्ग्रहालय, फसिहारा, भोकाहा, देवौली हुँदै सौराहासम्म साइकलमा पर्यटकलाई घुमाउने तयारी गरिएको छ । भट्टराईका अनुसार त्रिभुवन विमानस्थलसहित देशका ठूला विमानस्थल र महत्वपूर्ण ठाउँमा डिजिटल होर्डिङ बोर्ड राख्ने तयारी गरिएको छ । चितवन तेस्रो पर्यटकीय गन्तव्य हो । चितवन राष्ट्रिय निकुञ्ज र यहाँभित्र रहेको दुर्लभ वन्यजन्तु पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै आएका छन् । हरेक वर्ष दुई लाख हाराहारी पर्यटक भित्रने यहाँ भ्रमण वर्षमा चार लाख पर्यटक भित्र्याउने लक्षका साथ काम अघि बढाइएको छ ।