काठमाडौं : गएराती निधन भएका चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ।
हिजो राती विहे भोज खाएर फर्किनेक्रममा स्वास्थ्यमा खराबी आएपछि अस्पताल लानेक्रममै उनको मृत्यु भएको थियो ।
सरकारले अध्यक्ष भट्टराईको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने तयारी गरेको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जनाकारी दिएका छन ।
अन्तेष्टिअघि भट्टराईको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि अहिले चलचित्र विकास बोर्डको कार्यालयमा राखिएको छ।
आज सोमबार अपरान्ह पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ उनको अन्त्येष्टि गरिने बताइएको छ।
उनको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिने प्रस्ताव केही बेरमा बस्ने मन्त्रिपरिषदमा पेस हुने बताइएको छ।
तीन दशक नेपाली चलचित्रमा काम गरेका उनी ८ महिना अगाडि बोर्डको अध्यक्षमा नियुक्त भएका हुन्। उनको निधनले चलचित्र क्षेत्रलाई ठूलो घाटा भएको भन्दै चलचित्रकर्मीहरुले शोक व्यक्त गरेकका छन्।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष भट्टराई र कलाकार दीपक क्षेत्रीको निधनप्रति ट्विटरमार्फत श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।