काठमाडौं : तत्कालीन सभामुख कृष्णबहादुर महरालाई बलात्कार प्रयासको आरोपमा पुर्पक्षमा थुन्ने नथुन्ने भन्ने विषयमा उच्च अदालत पाटनमा बहस सुरु भएको छ ।
आफूलाई थुन्नु गलत भएको दाबी गर्दै महराले दिएको निवेदनमाथि उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र टेकनारायण कुँवरको इजलासमा आज बिहीबार सुनुवाइ हुँदैछ ।
५ मंसिरमा महराले उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । फौजदारी कार्यविधि संहिता २०७४ मा रहेको व्यवस्था बमोजिम महराले निवेदन थिएका थिए ।
अदालतले पीडित भनिएकी महिला कर्मचारीसँग पनि बयान लिइसकेको छ । जसमा उनले आफूमाथि करणी नभएको दाबी गरेकी छन् ।
घटना विवरण कागजात, जाहेरी दरखास्त, मौकामा कागज गर्नेहरुको बयान र तत्काल प्राप्त प्रमाणको आधारमा महरा कसूरदार होइन भन्न नसकिएको भन्दै उनलाई थुनामा पठाउन आदेश भएको थियो । त्यसयता उनी डिल्लीबजार कारागारमा छन् ।
उच्च अदालत पाटनको आदेशमा महरालाई किन पुर्पक्ष थुनामा पठाइएको थियो भन्नेबारे आधार र कारण खुलाएर जिल्ला अदालतले कैफियत प्रतिवेदनु उच्च अदालत पाटनमा पठाइसकेको छ।
पाटनले जिल्लाको आदेश सदर गरे महरा थुनामै रहनुपर्ने हुन्छ। र, उनी फेरि सर्वोच्च अदालत जान पाउँछन्।
उच्च अदालत पाटनले जिल्लाको आदेश उल्ट्याए महरा रिहा वा धरौटीमा छुट्छन्। त्यो आदेशविरुद्ध सरकारी वकिल सर्वोच्च जाने बाटो भने खुला रहने छ।
महरा गत असोज १९ मा पक्राउ परेका थिए ।