काठमाडौँ : निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचनमा भाग लिने ११ राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ ।
राष्ट्रियसभा सदस्यको आगामी माघ ९ गते निर्वाचन हुँदैछ ।
आयोेगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) -सूर्य, नेपाली काँग्रेस-रुख, समाजवादी पार्टी- पाँच औँलासहितको हत्केला, राष्ट्रिय जनता पार्टी नेपाल -ढल्केको छाता र राष्ट्रिय प्रजातन्त्र पार्टीले -गाई चुनाव चिह्न प्राप्त गरेका छन् ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)- हलो, राष्ट्रिय जनमोर्चा -गिलास, नेपाल मजदुर किसान पार्टी- मादल, नेपाल सङ्घीय समाजवादी पार्टी -बस, नेपाली जनता दल -गोरुगाडा चक्का (पाङ्ग्रो) र इतिहासिक प्रजातान्त्रिक जनता पार्टीले -ट्र्याक्टर निर्वाचन चिह्न प्राप्त गरेको आयोगले हिजो मंगलबार जनाएको छ ।
यसैबीच आयोगले उक्त निर्वाचनका सन्दर्भमा सात जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृृत र दुई जना न्यायाधीशलाई जगेडा निर्वाचन अधिकृत तोकेको छ ।
आयोगका अनुसार मोरङका मेदिनीप्रसाद पौडेल, धनुषाका राजकुमार खतिवडा, ललितपुरका मोहनबहादुर कार्की, कास्कीका काजीबहादुर राई, दाङका रितेन्द्र थापा, सुर्खेतका राजेन्द्रकुमार आचार्य र डोटीका विदुर काफ्ले निर्वाचन अधिकृत तोकिएका छन ।
त्यस्तै जगेडा निर्वाचन अधिकृतमा कैलाशप्रसाद सुवेदी र दिवाकर भट्टलाई तोकिएको छ । न्याय परिषद्को परामर्शमा आयोगले उनीहरुलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।