काठमाडौ : लाइसेन्स खारेजीको निर्णय सरकारले उल्टाएपछि व्यापारी अजयराज सुमार्गीको लगानी रहेको स्याटलाइट टेलिकमले सर्वोच्च अदालतबाट मुद्दा फिर्ता लिन निवेदन पेश गरेको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले लाइसेन्स खारेज गर्ने निर्णय गत साताको मन्त्रिपरिषद्को वैठकले उल्टाएको थियो । प्राधिकरणको निर्णयविरुद्ध सर्वोच्चमा दायर गरेको निवेदन फिर्ता लिन सुमार्गीको कम्पनीले आइतबार निवेदन दिएको स्रोतले पहिलोक्लिकलाई बताएको छ ।
हेलो नेपाल नामक मोबाइल सेवा सञ्चालनका लागि प्राधिकरणबाट पाएको लाइसेन्स गत भदौ १ गते प्राधिकरणले खारेज गरेको थियो ।
लाइसेन्स खारेज भएपनि ३५ दिनभित्र सरकारसमक्ष कम्पनीले पुनरावेदन गर्न पाउने कानुन व्यवस्थाअनुसार उसले मन्त्रिपरिषद्मा निवेदन दिएको थियो।
उक्त निवेदनपछि मन्त्रिपरिषद्को वैठकले सुमार्गीको पक्षमा निर्णय गर्दै लाइसेन्स खारेजी रद्द गरेको थियो।
कम्पनीले प्राधिकरणलाई बुझाउनुपर्ने रोयल्टी तथा नवीकरण शुल्कबापतको ८० करोड रुपैयाँ बुझाउन बाँकी छ ।
सरकारले यो शुल्कवापतको रकम कम्पनीलाई चारकिस्तामा बुझाउन म्याद तोकेको छ ।
प्राधिकरणको निर्णय २०७६ साउन १३ गते नेपाल स्याटालाइटका तर्फवाट सुभाषचन्द्र पौडेलले रिट दायर गरेका थिए। उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो।
नेपाल स्याटालाइटले २०७६ असोज २९ गते अर्को रिट हालेको थियो। यी दुवै मुद्दा फिर्ता लिने सुमार्गीको कम्पनीले आइतवार निवेदन दिएको हो। निवेदन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलाशमा पेशी रहेको छ।
सरकारले स्याटलाइटसहित तीनवटा दूरसञ्चार सेवा प्रदायकको लाइसेन्स खारेज गर्ने निर्णय बदर गरेको थियो।
वेबसर्फर प्रालि, स्मार्ट टेलिकम र नेपाल स्याटलाइट टेलिकम प्रालिको इजाजत खारेज गर्ने प्राधिकरणको निर्णयलाई मन्त्रिपरिषदले उल्टाएको थियो।