काठमाडौं :नेपाल–भारत सीमा क्षेत्रमा अवस्थित एकीकृत भन्सार जाँच चौकी (इन्टिग्रेटेट चेक प्वाइन्ट, आइसीपी)को उद्घाटन भएको छ ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले आज मंगलबार भिडियो कन्फेरेन्समार्फत संयुक्त रुपमा जाँच चौकीको उद्घाटन गरेका हुन्।
मोदीले दिल्लीस्थित हैदरावाद हाउस र प्रधानमन्त्री ओलीले काठमाडौंबाट आईसीपीको उद्घाटन गरेका हुन्।
यो चौकी संरचनालाई नेपाली र भारत भन्सारले सञ्चालन गर्नेछ।
आजदेखि सञ्चालनमा आएको भन्सार चौकीले आयात निर्यातमा सहयोग गर्ने अपेक्षा गरिएको छ।
दुईतर्फी जाँच हुनेमा अब एकै स्थानमा हुने भएकाले भन्सारमा आयातनिर्यात प्रक्रियामा सहज हुनेछ। जोगबनी र भन्सार क्षेत्रमा लाग्ने घण्टौंको भीड अन्त्य हुने बताइएको छ।
जोगबनी नाकामा लाग्ने अत्याधिक भिडलाई नियन्त्रण गर्ने भनी निर्माण भएको एकिकृत भन्सार जाँच चौकी ९आईसीपी०भन्सारको काममा पनि सजिलो र छिटो हुने बताइएको छ।
आईसीपी निर्माणका लागि दिनेशचन्द्र एन्ड आर अग्रवाल इन्फा डटकम अहमदावादलाई भारतले ठेक्का दिएको थियो । सम्झौताअनुसार, उसले भवन, पार्किङस्थल, जाँच पोष्टसहितका संरचना निर्माण गरेको छ । नेपालतर्फ ८ सय ५० मिटर लम्बाइ र ५ सय मिटर चौडाइमा फैलिएको आईसीपी १२९ बिघा क्षेत्रफलमा फैलिएको छ ।
यसमध्ये ४० विघामा ४३२० मिटर लामो चार लेनको कालोपत्रे सडक निर्माणको गरिएको छ । लिंकरोडलाई व्यापारिक मार्ग रानीदेखि धरानसम्मको ४९ किलोमिटरको उत्तररदक्षिणी राजमार्गसँग जोडिएको छ ।
सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय मोरङले गत २९ मंसिरमै नेपालतर्फ निर्माण हुने आईसीपीका लागि आवश्यक जग्गा भारतीय पक्षलाई हस्तान्तर गरेको हो । निर्माण कार्य सन् २०१७ फेब्रोअरी १ देखि सुरु भएको थियो ।
दुई वर्षभित्र आईसीपी निर्माण सम्पन्न गर्ने भनिए पनि लक्ष्यभन्दा १५ महिनापछि मात्र निर्माण सम्पन्न भएको हो ।