काठमाडौं : भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले पछिल्लो समय नेपाल–भारतसम्बन्धमा अभुतपूर्व प्रगति देख्न पाइएको बताएका छन्।
आज मंगलबार भिडियो कन्फ्रेन्समार्फत् संयुक्त रुपमा एकिृत जाँच चौकी उद्घाटनका क्रममा उनले प्रधानमन्त्री ओलीको सहयोगका लागि धन्यवाद दिँदै यस्तो बताएका हुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सहयोगका कारण त्यो सम्भव भएको भन्दै मोदीले भने, ‘तपाईंको सहयोगमा बितेका केही वर्षमा भारत–नेपालसम्बन्धमा अभुतपूर्व प्रगति देख्न पाइयो। हाम्रो सहयोग र विकासमा साझेदारी तीव्र रुपमा बढेको छ।
मोदीले नयाँ वर्षमा दुई देशको सम्बन्ध थप उचाइमा पुर्याउने बताए। ‘नयाँ वर्षमा हाम्रो सम्बन्धलाई थप उचाइमा लग्ने छौं,’ उनले भने, ‘यो देशक नेपाल –भारत सम्बन्धका लागि स्वर्णिम दशक बनोस्।’
‘नयाँ वर्ष २०२० को शुभकामा दिन्छु,’ उनले भने, ‘नयाँ वर्ष मात्रै होइन नयाँ दशक शुरु भएको छ। यो नयाँ दशक सबैका लागि खुसी र शान्ति लिएर आओस्। दुवै देशमा अघिल्लो हप्ता सक्रान्ति पर्व मनाइयो। तपाईंहरुलाई पनि सक्रान्ति पर्वको शुभकामना।’ पछिल्लो ५ महिनामा भिडियो कन्फ्रेन्समार्फत् दोस्रो पटक आयोजना उद्घाटन गरेको भन्दै मोदीले यो नेपाल–भारत सम्बन्धको प्रतिक पनि भएको बताए।
उनले भारत नेपालको विकासको एक विश्वसनीय मित्र भएको पनि बताए। ‘भारत–नेपालको विकासमा एक विश्वसनीय साथीको भूमिका निभाइ रहेको छ,’ मोदीले भने। ‘छिमेकी पहिलो नीति’ नीति आफ्नो सरकारको प्राथमिकतामा रहेको भन्दै मोदीले नेपाल–भारतबीचको सम्पर्क सञ्चाल विस्तारले त्यो काम गर्ने बताए।
भूकम्पका बेला दुःखमा परेका नेपालीलाई सहयोग गर्न पाएको भन्दै मोदीले भने, ‘सबै भारतीयलाई गर्व छ कि नेपालको भूकम्पका बेला भारतले नेपालसँग मिलेर काम गर्ने अवसर पायो। एउटा मित्रका रुपमा त्यो हाम्रो यो कर्तव्य थियो। गोरखा र नुवाकोटमा भएको पुनर्निमाण देखेर खुसी लागेकोछ।’
मोदीले ४०– ५० हजार घरको पुनर्निर्माण भइसकेको भन्दै बाँकी घरको पनि चाँडै पुनर्निर्माण गरेर हस्तान्तरण गर्ने बताए।
मोदीले ओलीको स्वास्थ्य लाभको कामना गर्दै ओलीले दिएको नेपाल भ्रमणको स्वीकार गरे। ‘यो वर्ष नेपाल आउने कार्यक्रम बनाइरहेको छु,’ मोदीले भने, ‘तपाई (ओली)सँग समय बिताउने छु। तपाईंले प्रेमसहित जुन निमन्त्रणा दिनुभयो मैले गर्व महसुस गरिरहेको छु। तपाईं र नेपाली नागरिकको प्रेमले मलाई नेपालतिर खिचिरहेको छ। म अवश्य पनि नेपाल आउने कार्यक्रम बनाउने छु।’