काठमाडौं : आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिदेशीय सिरिजका लागि आज शुक्रबार नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले आज शुक्रबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो। जसमा तीब्र गतिका बलर कमल सिंह ऐरीले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन्। साथै सुशन भारी र कुशल मल्ल पहिलो पटक एकदिवसीय खेल्ने राष्ट्रिय टिममा परेका हुन्।
१३औँ दक्षिण एसियाली खेलकुदको समयदेखि नै चोटग्रस्त रहेका सोमपाल कामी चोटकै कारण टिममा परेका छैनन्। टिममा नपरेका बसन्त रेग्मी घरायसी कारणले टिममा नराखेको बताइएको छ।
ओमान र अमेरिकासँग त्रिवी क्रिकेट मैदानमा नेपालले आउँदो २२ देखि २९ गतेसम्म त्रिदेशीय सिरिज खेल्दैछ। त्यसैको तयारीका लागि टिम अहिले पोखरामा अभ्यासमा रहेको छ। जहाँ मलेसियाको टिमसँग नेपालले ३ खेलको एकदिवसीय सिरिज क्लिन स्वीप गरेको थियो।
टोलीमा दिपेन्द्र सिह ऐरी (उपकप्तान), पारस खड्का, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, बिनोद भण्डारी, अभिनाश बोहरा, कुशल मल्ल, कमल सिंह ऐरी, सुशन भारी, रोहित पौडेल, शरद भेषावकर र ललित नारायण राजबंशी छन ।
वैकल्पिक खेलाडीमा भने पवन सर्राफ, सुवास खकुरेल, सन्दीप जोरा र किशोर महतो छन।
