काठमाडौँ: अर्थमन्त्री डा युवराज खतिवडाले सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको साधारण शेयरको प्राथमिक निष्काशन हुनसक्ने बताए । उनले साधारण शेयर बिक्री हुन सक्नेतर्फ सङ्केत गरे पनि त्यससम्बन्धी प्रक्रियाका बारेमा हाल छलफल मात्रै भइरहेको उल्लेख गरे ।
राष्ट्रिय वाणिज्य बैंकको ५५ औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्रीले भने, “पूँजीका हिसाबले साधारण शेयर बिक्री गर्नुपर्ने अवस्था भने छैन तर कम्पनी ऐनअनुसार सबैलाई समान व्यवहार गर्नुपर्ने भएकाले वाणिज्य बैंक पनि त्यसमा आउनै पर्छ ।” उनले अन्य बैंक तथा वित्तीय संस्थालाई झै राष्ट्रिय वाणिज्य बैंकलाई पनि कम्पनी कानून र बैंक तथा वित्तीय संस्था ऐनमा भएको व्यवस्था लाग्ने स्पष्ट पारे ।
उनले भने, “बैंकको शेयर स्वामित्व संरचना कस्तो हुन्छ भनेर हामी छलफलमा नै छाँै । कानूनको सबैले पालना गर्नुपर्छ । त्यसो हुँदा सर्वसाधारणमा साधारण शेयर बिक्री गर्नुपर्छ ।” उनले सामाजिक सुरक्षा कोषमा दोहोरो कर नलाग्ने गरी नीतिगत व्यवस्था गरिन लागेको जानकारी दिए । अर्थमन्त्रीले बैंक तथा वित्तीय संस्थालाई आफ्नो निक्षेपकर्ताको चित्त दुखाउने गरी काम नगर्नसमेत आग्रह गरे ।
उनले बैंक तथा वित्तीय संस्थालाई एकापसमा गाभिन अभिप्रेरित गर्दै आएको सरकारले त्यसलाई थप गति दिने बताए ।
उनले बैंक तथा वित्तीय संस्थालाई एकापसमा गाभिन तथा प्राप्ति गर्ने प्रक्रिया अगाडि बढाउन सुझाव दिएका हुन् । वित्तीय स्थायित्व तथा सबलीकरणका लागिसमेत बलिया संस्था बन्नुपर्ने उनको भनाइ थियो ।
सरकारले बैंक तथा वित्तीय संस्थाको सङ्ख्या घटाउन प्रेरित गरिरहेको भन्दै उनले सरकारको आग्रहलाई स्वीकार गरेको खण्डमा थप सहुलियतसमेत दिलाउने विश्वास व्यक्त गरे ।
उनले भने, “घराना मिल्ने र एकै प्रकृतिका कारोवार गर्ने बैंक तथा वित्तीय संस्था एकापसमा गाभिनुपर्छ, त्यसतर्फ नगई सुखै छैन ।” २७ वटै वाणिज्य बैंक चाहिन्छ भन्ने नरहेको उल्लेख गर्दै उहाँले नेपाल राष्ट्र बैंकले पनि संस्था एकापसमा गाभिन प्रोत्साहित गरिरहेको उल्लेख गरे ।
उनले गुणस्तरीय बैंकिङमा ध्यान दिन, सेवाको क्षेत्र विस्तार गर्नसमेत सरकारी लगानी भएकाले वाणिज्य बैंक अझै अब्बल हुनुपर्नेमा जोड दिए ।
अर्थमन्त्रीले उनले दीर्घकालीन प्रकृतिका कर्जामा ब्याजदर करिडोर बनाउनुपर्ने आवश्यकता औँल्याए । उनले भने, “कर्जाको आकार होइन, अब कर्जाको गुणस्तर वृद्धिमा लाग्नुपर्छ । आकार मात्रै वृद्धि गरेर हँुदैन कर्जाले उत्पादकत्व पनि बढाउनुपर्छ । त्यसमा भूमिका खेल्नुस् ।”
नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले सरकारी स्वामित्वको बैंक भएकाले पनि राष्ट्रिय वाणिज्य बैंकको भूमिका थप सबल हुनुपर्ने बताए ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको नाफा बढेर रु पाँच अर्ब चार करोड ६५ पुगेको जानकारी दिए । बैंकले रु एक खर्ब ४६ अर्ब ऋण प्रवाह गरेको छ । यस्तै बैंकले निक्षेपतर्फ रु एक खर्ब ९० अर्ब सङ्कलन गरेको छ ।
यसैगरी बैंकको खुद ब्याज आम्दानी रु ९९ करोड हुँदा शाखा सङ्ख्या २३८ रहेका छन् । यस्तै २०५ एटिएम रहेको बैंकले ३२ लाख ग्राहकलाई सेवा पु¥याएको छ । त्यस्तै ९५४ वटा सहुलियत कर्जा स्वीकृत गरी रु ७८ करोड ७८ लाख ८० हजार ऋण प्रवाह गरेको छ । त्यसमा महिलालाई मात्रै रु ५८ करोड तथा दलित समुदायलाई पनि रोजगारी अभिवृद्धिका लागि ऋण दिइएको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।