काठमाडौं : सत्तारुढ नेकपाको पार्टी एकतापछि पहिलोपटक केन्द्रीय समितिको बैठक बुधबार बस्ने भएको छ । बैठक ५ दिनमा सक्ने तयारी भएको छ ।विधानतः ६–६ महिनामा बस्नुपर्ने बैठक नेकपाले २१ महिनासम्म पनि नबोलाएकोमा पार्टीभित्र अध्यक्षद्वयको आलोचना हुँदै आएको थियो । तत्कालीन एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ मा पार्टी एकता भएको थियो ।
‘अब केन्द्रीय समिति बैठक बस्ने गरी सम्पूर्ण तयारी पूरा भएको छ’, केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताए ।
गत मंसिर २९ देखि पुस ६ सम्म बसेको पार्टी स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक २३ पुसबाट बोलाउने निर्णय गरेको थियो । तर २० पुसको सचिवालय बैठकले राष्ट्रिय सभा चुनाव, सभामुख चयन प्रक्रिया लगायतका कारण देखाउँदै बैठक माघ १५ सम्मलाई सार्ने निर्णय गरेको थियो ।एकतापछि केन्द्रीय समिति जम्बो (४४१ सदस्य) बनेको नेकपाको अब हुने उक्त बैठकमा आमन्त्रित नेतासहित २४३ जना नेता सहभागी हुनेछन् ।
पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न असहज हुने भएपछि उक्त बैठक राजधानीको प्रर्दशनीमार्गस्थित राष्ट्रिय सभागृहमा बस्ने भएको छ । पार्टीले पाँच दिनका लागि सभागृह बुकिङ गरिसकेको कार्यालय सचिव ढकालले बताए । ‘बैठकका लागि बुकिङ गरिसकेका छौं, अन्य आवश्यक तयारी पनि सोमबारभित्र सक्छौं’, ढकालले भने । महासचिव विष्णु पौडेल र कार्यालय सचिवद्वय ढकाल र ईश्वर रिजालले आइतबार सभागृह पुगेर बैठक कक्षदेखि सभागृहमा गर्नुपर्ने अन्य तयारीका बारेमा जानकारीसमेत लिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार नै बैठकको तयारीका विषयमा केन्द्रीत रहेर छलफलमा बसेका दुई अध्यक्षको निर्देशनपछि महासचिव पौडेलको नेतृत्वको टोलीले सभागृह पुगेर बैठकस्थलको अवलोकन गरेका छन् । बैठकमा अध्यक्षद्वयले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन, महासचिवले प्रस्तुत गर्ने विधान संशोधन प्रस्ताव र समसामयिक प्रस्तावका विषयमा पार्टी नेताबीच समूह विभाजन गरी छलफल गराउने तयारी अध्यक्षद्धयले गरेका छन् ।