काठमाडौँ: कृषि विकास बैंक लिमिटेडले निष्कासन गरेको ऋणपत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ । अहिलेसम्मकै महँगो ब्याज दरको ऋणपत्रमा सर्वसाधारणको उलेख्य आकर्षण देखिएको हो ।
बैंकले १०.३५ प्रतिशत ब्याजको ऋणपत्र गत सोमबारदेखि निष्कासन गरेको हो। प्रति कित्ता अंकित मूल्य एक हजार रूपैयाँ दरको ऋणपत्र चाँडोमा १७ गतेसम्म बिक्री बन्द हुने छ।
बैंकले २ अर्ब ५० करोड रूपैयाँ बराबरको ऋणपत्र जारी गरेको ऋणपत्रमा न्यूनतम २५ कित्ताका लागि आवेदन दिनु पर्नेछ। अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिने छ।
२ अर्ब ५० करोडमध्ये एक अर्बको ऋणपत्र सर्वसाधारणलाई छुट्याएको छ भने एक अर्ब ५० करोड संस्थागत लगानीकर्ताका लागि छुट्याएको छ ।
संस्थागत लगानीकर्ताका लागि छुट्याएको ऋणपत्र बुक भैसकेको छ भने सर्वसाधारणलाई छुट्याइएको ऋणपत्र धमाधम बिक्रि भएको एनआइबीएल एस क्यपिटलले जनाएको छ । १४ करोड १६ लाख बराबरको ऋणपत्र खरिदको लागि आवेदन परिसकेको छ ।