काठमाडौं: सरकारले अवस्था हेरेर बन्दाबन्दीको स्वरुपमा परिवर्तन गर्ने तयारी गरिरहँदा सार्वजनिक यातायातलाई पनि कसरी सञ्चालन गर्न सकिन्छ भनी छलफल शुरु भएको छ ।
बन्दाबन्दीको झण्डै साढे दुई महिना ठप्प भएका सार्वजनिक यातायात सेवालाई पुनः सञ्चालन गर्न यातायात व्यवस्था विभागले सरोकारवाला निकायसँग छलफल थालेको हो । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ जोखिम कम गर्दै यातायात सञ्चालनसम्बन्धी कार्यविधि बनाएर विभागले यसमा छलफल शुरु गरेको छ ।
सरकारले रेड, ग्रिन र एल्लो जोन निर्धारण गरेर बन्दाबन्दीको स्वरुप परिवर्तन गर्न सकिने विषयमा छलफल गरिरहेको छ । जोखिम कम भएका स्थानमा सार्वजनिक यातायात सञ्चालनका विषयमा छलफल थालिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।
कार्यविधिमा सार्वजनिक यातायातभित्र यात्रुबीच कसरी दूरी कायम गर्ने, सवारी साधनलाई कसरी सुरक्षित बनाउने, भाडा दिने/लिने कसरी गर्नेलगायतका विषय समावेश छ ।
थोरै सङ्ख्यामा यात्रु राख्ने, भाडा दिँदा विद्युतीय प्रविधिबाट वा बाकसमा यात्रुले राख्ने र नियमितरुपमा सवारी साधनमा सङ्क्रमण हटाउने कुरा कार्यविधिमा उल्लेख छ । उनले भने, “कसरी यात्रु र सवारी साधनका कर्मचारी सुरक्षित भएर सञ्चालन गर्ने भन्नेमा छलफल भइरहेको छ ।”
सार्वजनिक सवारी साधन खुल्ने मिति टुङ्गो नभए पनि सरकारले निर्णय गर्नासाथ सञ्चालन गर्नका लागि आवश्यक तयारी भइरहेको विभागले जनाएको छ ।
बन्दाबन्दी खुकुलो गरेर विभिन्न कार्यालय सञ्चालनमा आउँदा सार्वजनिक सवारी साधन पनि खुलाउनुपर्न सक्ने दबाब आएको महानिर्देशक हमालले बताए । उनले भने, “अरु सेवा खुलिरहँदा त्यसको पूर्तिका लागि पनि यातायात खुलाउनुपर्छ ।”