काठमाडौँ: नेपाल चेम्वर अफ कमर्सले आगामी मौद्रिक नीतिबाट सम्वोधन गर्नु पर्ने ४० बुदे माग नेपाल राष्ट्र बैंकमा बुझाएको छ ।
चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल राष्ट्रवैंकका गभर्नर महा प्रसाद अधिकारीे समक्ष उक्त मागपत्र पेश गरेको हो।
चेम्बरले विश्वव्यापी रुपमा अर्थतन्त्र नै तहसनहस भएकोे कारण समस्त आर्थिक गतिबिधिहरु ठप्प भएको उल्लेख गर्दै पर्यटनको क्षेत्र, खुद्रा तथा थोक व्यापार क्षेत्र, उद्योग क्षेत्र, निर्माण तथा यातायात क्षेत्र, घरजग्गा कृषि लगायत सवै क्षेत्रहरु ऋणात्मक भइसकेको जनाइएको छ।
निजी क्षेत्रले वैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको ब्याज र किस्ता, घर तथा गोदाम भाडा, आपूर्तिकर्ताको बाँकी भुक्तानीहरु, कर राजस्व तथा अन्य विविध निश्चित लागतहरु एकै पटक भुक्तानी गर्नु पर्ने स्वाभाविक परिस्थितिको सामना गर्न नसक्ने भन्दै यसलाई सहज बनाउन राष्ट्र बैंक समक्ष आग्रह गरेको छ ।
बिषम परिस्थितिमा आएको बजेटले निजी क्षेत्रले अपेक्षा गरे अनुसारको व्यवस्था बजेटले गर्न नसकेको भन्दै निजी क्षेत्रलाई उत्साहित बनाउन तथा निजी क्षेत्रको मनोबल कायम राखी आर्थिक पुनरुत्थान गर्न नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीति मार्फत अधिकतम प्रयास गर्न पर्ने अपेक्षा नेपाल चेम्बर अफ कमर्सले राखेको विज्ञप्तिमा उल्लेख गरेको छ।
चेम्बरको मागपत्र बुझ्दै अहिले तरलता, रेमिट्रयान्स प्रवाह एवम बिदेशी मुद्राको संचिति सन्तोषजनक अवस्थामा रहेकोले लगानीको लागि पूँजीको अभाव नरहेको जानकारी दिए। साथै उनले समस्त व्यवसायीक कारोवार डिजिटाइज्ड गर्ने तर्फ राष्ट्र बैंक प्रयत्नशील रहेको बताउँदै निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताए।