काठमाडौं: सरकारले अत्यावश्यक कामबाहेक अरु बेला बाहिर ननिस्कन सबै नागरिकलाई पुनः आग्रह गरेको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को आज बसेको बैठकले बाहिर निस्किनुपर्दा अनिवार्य मास्क प्रयोग गर्न र अनावश्यक भीडभाड नगर्न तथा भौतिक दूरी कायम गर्न आग्रह गरेको छ ।
बैठकले महामारी नियन्त्रणमा प्रदेश र स्थानीय सरकारले गरेका कामको उच्च मूल्यांकन गर्दै आगामी दिनमा थप समन्वय गर्दै लैजाने निर्णय गरेको केन्द्रका सदस्य एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
बैठकले देशैभरका क्वारेन्टिनलाई थप व्यवस्थित गर्दै लैजाने तथा त्यसको अनुगमन र सहजीकरणको काम प्रदेश सरकारले गर्ने, क्वारेन्टिनमा रहेकाहरुको शीघ्र स्वास्थ्य परीक्षण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय परीक्षण निर्देशिकानुसार गरेर त्यहाँ बसेको दुई हप्ताभित्र सक्ने निर्णय गरेको छ ।