काठमाडौं: सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको बैठक शनिबारसम्मका लागि स्थगित भएको छ ।
सरकारले संघीय संसदको अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेपछि रोकिएर फेरि सुरू भएको बैठक करिब आधा घण्टा बसेर स्थगित भएको स्थायी कमिटी सदस्य बेदुराम भुषालले जानकारी दिए ।
झन्डै तीन घन्टा रोकिएर सुरू भएको बैठककाबीचमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसँग गरेको संवाद तथा राष्ट्रपतिसँग गरेको परामर्शबारे जानकारी गराएपछि शनिबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित भएको भुषालले जानकारी दिए ।
बिहान बैठक स्थगित भएपछि ओलीसँग पनि छलफल गरेका प्रचण्ड राष्ट्रपतिलाई पनि भेट्न शीतल निवास पुगेका थिए ।
उक्त भेटमा उनले पार्टीको एउटा खेमामा नलागी अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेको बताइएको छ ।
संसद् अधिवेशन अन्त्य गरेर ओलीले अध्यादेश ल्याउन लागेको आशंका बढेको ओलीइतरका नेताहरूले बताएका छन् ।