काठमाडौं: देशभर कोरोनाको महामारी फैलिरहेका बेला नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी आज मंगलबारसम्ममा ३८७ जनालाई संक्रमण पुष्टि भएको छ । तीमध्ये, २३५ जना उपचारपछि कार्यक्षेत्रमा फर्किसकेका छन् भने १४३ जना सुरक्षाकर्मी आइसोलेशनमा छन् ।
२१६ प्रहरी संक्रमित
आइतबार र सोमबार मात्रै ४० भन्दा बढी प्रहरीलाई कोरोना भाइरस संक्रमण देखिएको छ । प्रहरी मुख्यालयमा मात्रै ३१ जनालाई कोरोना संक्रमण भएको प्रहरी वरिष्ठ उपरिक्षक कुवेर कडायतले जानकारी दिए । पछिल्लो दुई दिनमा प्रदेश–१ प्रहरी कार्यालय र जिप्रका स्याङ्जामा कार्यरत सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको हो । २० जनामा संक्रमण देखिएपछि प्रदेश–१ प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारी क्वारेन्टाइनमा छन् ।
देशभरमा रहेका नेपाल प्रहरीका २१६ जनालाई कोरोना देखिएको प्रहरी प्रवक्ता कडायतले जानकारी दिए । उनका अनुसार ९९ जना प्रहरी निको भर कार्यक्षेत्रमा फर्किएका छन् भने ८३ जना प्रहरी आइसोलेशनमा छन् ।
‘संक्रमित प्रहरी ब्यारेकको आइसोलेशनमा छन्, अन्य प्रहरीलाई पनि क्वारेन्टाइनमा राखिएको छ,’ प्रहरी प्रवक्ता कडायतले भने, ‘लकडाउन खुलेसँगै समुदाय स्तरमा संक्रमण बढेकाले सुरक्षाकर्मीमा पनि संक्रमण बढ्दै गएको छ ।’
गत आइतबार नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा चारजनालाई कोरोना देखिएपछि त्यहाँ सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ । उपत्यका बाहिर गएर फर्केका एकजना प्रहरी हवल्दारले सावधानी नअपनाउँदा हेडक्र्वाटरमा संक्रमण फैलिएको बताइएको छ । त्यस्तै, मंगलबार प्रहरी प्रधान कार्यालयमा कार्यालयमा कार्यरत २३ जनालाई कारोना संक्रमण देखिएसँगै संक्रमितको संख्या २७ पुगेको छ ।
सेनाका ७९ जनाले कोरोनालाई जिते
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार नेपाली सेनाका ७९ जनामा कोरोनासंक्रमण देखिएको छ । जसमध्ये ७१ जना निको भएर कार्यक्षेत्र फर्किएका छन् भने ८ जना अस्पतालको आइसोलेशनमा छन् । ‘काठमाडौँ उपत्यकामा तीन जनालाई संक्रमण देखिएको छ,’ सैन्य प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले भने, ‘दुईजना एपीएफ अस्पताल र एकजनाको वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ ।’
संक्रमितमध्ये धेरैजसो क्वारेन्टाइनको व्यवस्थापनमा खटिएका सैनिक छन् । संक्रमण रोक्न सेनाले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड कडाइका साथ पालना गर्न निर्देश गरेको छ ।
९२ जना सशस्त्र प्रहरीमा कोरोना
सशस्त्र प्रहरी मुख्यालयका अनुसार ९२ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस संक्रमण भएको छ । जसमा ६५ जना निको भएर कार्यक्षेत्र फर्केका छन् । २७ जनाको उपचार भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ । संक्रमितमध्ये धेरैजसो भारतसँगको सीमा क्षेत्रमा खटिएका प्रहरी रहेको सशस्त्रका प्रवक्ता डीआईजी अर्याल बताउँछन् । गत सातामात्र झापामा २० जना सशस्त्र प्रहरीमा संक्रमण देखिएको थियो ।