काठमाडौं : राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज मंगलबार निधन भएको छ ।
आज मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन भएको पारिवारिक श्रोेतले जनाएको छ ।
उनको १०१ बर्षको उमेरमा निधन भएको हो ।
घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार, कवि र गीतकार हुन् ।
उनले साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख(प्रबन्धजस्ता अनेकौं विधा(उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका थिए ।
नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले (गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), उनले राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता किन्नर९किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) उनका चर्चित लेखहरु हुन्
माधवप्रसाद घिमिरेको जन्म वि.सं. १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भयो। जन्मिएको तीन वर्षमा उनकी आमा बितिन। ६ वर्ष हुँदा अक्षर चिनेका उनले ८–९ वर्षको हुँदा गाउँको फुलेबाबासँग पञ्चांग अध्ययन गरे। ११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा(लमजुङ) गाउँको संस्कृत पाठशाला हुँदै काठमाडौंको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालासम्म आइपुग्दा उनले प्रथमा उत्तीर्ण गरे। त्यसपछिको अध्ययनका लागि उनी बनारस पुगे। घिमिरेले भारतमा बनारसको क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गरेका छन्।
१४ वर्षको उमेरमा ज्ञानपुष्प शीर्षकमा वि.सं.१९९२ मा गोरखापत्रमा पहिलो रचना छपाएर काव्य सिर्जनामा प्रवेश गरे। घिमिरे वि.सं. २००५ सालमा गोरखापत्रमै सह-सम्पादकको जागिरे पनि थिए। बनारसबाट शास्त्री प्रथम खण्ड उत्तीर्ण गरेपछि वि.सं. १९९८ सालमा भाषानुवाद परिषदबाट मासिक २५ रुपैयाँ तलबमा लेखक पदमा र वि.सं. २००१ सालमा गोरखापत्र दैनिकमा मासिक ४० रुपैयाँ तलबमा सहायक सम्पादक रही काम गरे। त्यसपछि २०१० सालमा लक्ष्मीप्रसाद देवकोटाको अध्यक्षतामा गठन भएको काव्य प्रतिष्ठानमा चार वर्षसम्म सदस्य थिए।
चर्चित राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’ का रचनाकार घिमिरे का अन्य चर्चित गीतहरूमा ‘फूलको थुङ्गा बगेर गयो’ (तारादेवी) तथा ‘आजै र राति के देखेँ सपना’ (नारायण गोपाल)ले गाएका छन्। उनी वि.सं. २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म सक्रिय रहे।
राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई वि. सं. २०६७ सालमा पद्यश्री साधना सम्मान पुरस्कार प्रदान गरिएको थियो। उनलाई वि.स.२०७५ मा महा उज्ज्वल पदकबाट सम्मानित गरिएको छ। वि.सं.२०५४ सालमा हिमालपारि हिमालवारि का लागि साझा पुरस्कार र वि.सं.२०५८ सालमा चारु चर्चा(निबन्ध) का लागि साझा पुरस्कार प्रदान गरिएको थियो।