काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक २५ हजार जनाको पिसिआर विधिबाट परीक्षण गर्न सकिने जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा दैनिक २२ देखि २५ हजार जनाको पिसिआर परीक्षण गर्ने क्षमता रहेको जानकारी गराएका छन्।
विभिन्न विधिबाट परीक्षण गर्ने ढोका खुलेको भन्दै उनले भने, ‘जीन एक्पर्टबाट पनि परीक्षण भइरहेको छ। साथै एन्टिजेन परीक्षण गर्नलाई त्यसको गुणस्तर प्रत्याभूति गर्ने काम भइरहेको छ।’
सरकारले एन्टिजेन परीक्षण गर्ने तयारी गरिरहेका बेला विज्ञहरूले भने उक्त परीक्षण विश्वसनीय नभएको भन्दै परीक्षण नगर्न सुझाएका छन्।
मन्त्रालयले भने जापानबाट ६० हजार एन्टिजेन किट आउन लागेको भन्दै छिट्टै उक्त विधिबाट परीक्षण गरिने जनाएको छ।
अहिले दैनिक औसत १० हजार जनाको पिसिआर परीक्षण हुँदै आएको छ।
