काठमाडौँ: कामीरिता शेर्पाले यसअघिको आफ्नै ‘रेकर्ड ब्रेक’ गर्दै आज ३१ औँपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।
मंगलबार बिहान चार बजे शेर्पा ३१ औँ पटक सगरमाथा शिखरमा पुगेका सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाले जानकारी दिए।
गत वर्ष कामीरिताले ३० औँपटक सगरमाथाको सफल आरोहण गरेर विश्व रेकर्ड कायम गरेका थिए। त्यो आफ्नै रेकर्डलाई उनले आज ब्रेक गरेका हुन्। गत वर्ष उनले १० दिनकै फरकमा दुईपटक सगरमाथा आरोहण गरेका थिए।
उनले ०८१ वैशाख ३० गते २९ औँ र ०८१ जेठ ९ गते ३० औँ पटक सगरमाथाकाे सफल आरोहण गरेका थिए।
कामीरिताले सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा धेरै पटक पाइला राख्ने संसारकै एक्लो आरोहीको विश्व कीर्तिमानलाई कामय राखेका छन्।
‘एभरेष्ट म्यानले फेरि गर्यो चमत्कार! ३१ औँ पटक सगरमाथा आरोहण,’ सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘इतिहासमै सबैभन्दा धेरैपटक सगरमाथा आरोहणको कीर्तिमानी ५५ वर्षीय कामीरिता शेर्पालाई ३१ औँ पटकको सफल आरोहणका लागि बधाई!’
