काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक जहाज खरिद प्रक्रिया अघि बढाउन नेपाल वायु सेवा निगमलाई निर्देशन दिएका छन ।
निगमका कार्यकारी अध्यक्ष र विभागीय प्रमुखसँगको संयुक्त बैठकमा मन्त्री भट्टराईले आन्तरिकतर्फ दुई वटा मात्र टुइनटर जहाज भएको र त्यसले माग धान्न नसकेको दुर्गम क्षेत्रमा सेवा प्रदान गर्नको लागि तत्कालै जहाज खरिदको प्रक्रिया सुरु गर्न निर्देशन दिएका हुन ।
मन्त्री भट्टराईले नेपाल एअरलाइन्सलाई पब्लिक कम्पनी मोडलमा लैजानको लागि कुन समय उपयुक्त हुन्छ, त्यसको खाका लगानी कोष,सञ्चयकोष,पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयसँग छलफल गरी तयार गर्न निर्देशन दिएका छन ।
मन्त्री भट्टराईले नेपाल एअरलाइन्स ऐतिहासिक नेपाली ध्वजावाहक एअरलाइन्स भएकोले यसको साख जोगाउने गरी काम गर्न भनेका छन । उनले एअरलाइन्सको स्थिति सुधारको लागि आ–आफनो विभागबाट तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढन आग्रह गरे ।
उनले नेपाल एअरलाइन्स ठूलो आर्थिक ऋणमा रहेकोले देशका विभिन्न २३ ठाँउमा रहेका अचल सम्पत्ति (जग्गा)लाई व्यावसायिक उपयोग गरी निगमको आर्थिक अवस्था सुधार गर्नसमेत आग्रह गरे ।
खर्च कटौती तथा मितव्ययिता अपनाउन विदेशमा रहेका कर्मचारी कटौती गर्न बैठक भत्ता घटाउन साथै कर्मचारी, बोर्डका पदाधिकारी र अवकाश पाएका कर्मचारीले पाउने सुविधाबापतको टिकट ५० प्रतिशत कटौती गर्नसमेत उनले अनुरोध गरे ।
मन्त्री भट्टराईले जीएसए तोक्दा प्रतिस्पर्धी, क्षमतावान् एजेन्सी छनोट तथा आवश्यक मापदण्ड बनाएरमात्र तोक्नु पर्नेमा जोड दिए ।