काठमाडौँ: अघिल्लो दिन सामान्य करेक्स्न आएको शेयर बजार बुधबार सामान्य बढेको छ । जलविद्युत र होटलका शेयरमा लगानीकर्ताहरुको आकर्षण बढ्दा कारोबार रकममा समेत बढेको छ ।
शेयर बजारबाट छोटो समयमै नाफा कमाएका लगानीकर्ताले नाफा बुक गर्नेक्रममा पोर्टफोलियो बदल्दा यसको सकारात्मक प्रभाव जलविद्युतमा परेको छ । अन्य समूहबाट गरेको नाफा जलविद्युतका सस्ता शेयर खरीदमा लगानी गरेको देखिन्छ । त्यस्तै लकडाउन खुकुलो भएपश्चात होटलहरुको व्यापारमा सुधार आउने अपेक्षाले होटलका शेयरमा समेत लगानी बढ्दा मूल्य बढ्न गएको हो।
बुधबार नेप्से सूचक ५.३६ अंकले बढेर १५४१.४० अंकमा पुगेको छ । आज १९४ कम्पनीका ६३ लाख ९० हजार ८३ कित्ता शेयर ३० हजार ५९० पटक खरीद बिक्री हुँदा कारोबार रकम १ अर्ब ८४ करोड ५६ लाख नाघेको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा ५ करोड धेरै हो ।
बुधबार कारोबारमा आएका १२ उप समूहका समूहगत परिसूचकमध्ये बैंकिङ समूह बाहेक सबै सकारात्मक भएका छन । बैंकिङ समूह ०.३७ प्रतिशतले घटेको छ । सबैभन्दा धेरै होटल समूह ९प्रतिशत बढीले बढेको छ भने जलविद्युत समूह ४.७१ प्रतितशले उकालो लागेको छ । व्यापार समूहमा पनि दुई प्रतिशत बढीले सुधार आएको छ ।
I