काठमाडौँ: साताको अन्तिम कारोबार दिनको शेयर काराबोरमा बैंकिङ समूहमा उछाल आएर नेप्से परिसूचक ३० अंकले बढ्दा साढे ३ अर्ब बढीको शेयर किनबेच भएको छ । बैंकिङ समूह २.३ प्रतिशतले उकालो लाग्दा नेप्से सूचक समेत २ प्रतिशतले बढेको हो ।
बिहीबारको बजारमा कारोबारमा आएका १२ उप-समूहका सूचक मध्ये निर्जीवन बीमा बाहेक बाँकी सबै उपसमूहको परिसूचक उच्च दरले बढेसँगै नेप्सेमा उछाल आएको हो ।
यसदिन नेप्से परिसूचक ३०.७८ अंक बढेर १५७२.१८ विन्दुमा पुगेको छ। यस दिन १९१ कम्पनीको ५३ हजार २४० पटकको कारोबारमा ३ अर्ब ७२ करोड ६८ लाख ८५ हजार रुपैयाँ बराबरको १ करोड ३२ लाख १६ हजार कित्ता शेयर खरिद बिक्री भएको छ।
वाणिज्य बैंकहरुसँगै लगानीकर्ताको ध्यान होटल र जलविद्युत कम्पनीका शेयर समेत देखिएको छ ।
आजको बजारमा वित्त कम्पनीहरुको शेयरमा पनि आकर्षण थपिएको छ ।
असोज १ गतेदेखि होटल व्यवसाय संचालनमा आएसँगै लगानीकर्ताहरु होटल कम्पनीका शेयरमा बढी आकर्षित भएका छन्।।
कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी , नेपाल बैंक तथा चिलिमे हाइड्रो अग्रपक्तिमा देखिएका छन् । नेपाल पुनर्बीमा कम्पनीको यस दिन १४ करोड ९८ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । नेपाल बैंकको १२ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर किनबेच हुदाँ चिलीमेको पनि १० करोड बढीको शेयर किनबेच भयो ।
यसदिन रिलायन्स लाइफ इन्स्योरेन्स, सोल्टी होटल, हिमाल दोलखा र तारागाँउ रिजेन्सी होटलको शेयर मूल्य दश प्रतिशतकादरले बढेको छ । यस्तै तीन दर्जन बढी कम्पनीको शेयरमूल्य ९ प्रतिशतका दरले बढेको छ। यसदिन सबैभन्दा धेरै एनआरएन लघुवित्तको शेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले घटेको छ ।