काठमाण्डौ: विभिन्न समयमा एसिड आक्रमणबाट पीडित बन्न पुगेका तीन युवतीले कुमारी बैंक लिमिटेडमा रोजगारी पाएका छन्।
बैंकले एसिडपीडित दुई युवतीलाई काठमाण्डौ उपत्यकामा र एकजनालाई मकवानपुरको हेटौँडामा स्थायी रोजगारीको व्यवस्था गरेको हो। बैंकले तीनैजनालाई मार्केटिङ अफिसरका रुपमा नियुक्त गरेको छ।
रोजगार पाउनेमा हेटौँडाकी विन्दवासिनी कंसाकार र काठमाण्डौमा बस्दै आएका जेनी खड्का र संगीता मगर छन्। तीनैजनाले असोज १ गतेबाटै गणना हुने गरी रोजगारी पाएको बैंकले जनाएको छ। सुरुमा एक महिनाको करार र त्यसपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी स्थायी नियुक्ति दिइने बैंकका डेपुटी सीईओ अनुजमणि तिम्सिनाले जानकारी दिए।
काठमाण्डौको कालोपुलमा गत वर्ष जेठ २ गते काभ्रे फूलबारीकी जेनीमाथि सोही ठाउँका विष्णुबहादुर भुजेलले एसिड छ्यापेका थिए। संगीता मगरलाई भने एसएलसी परीक्षाको तयारीका लागि ट्युसन जान लाग्दा २०७१ फागुन १० गते बिहान रामेछाप फुलासीका जीवन विकले बसन्तपुर एसिड प्रहार गरेका थिए।
हेटौँडाकी कंसाकारमाथि भने २०७० वैशाख ९ गते पसलमा बसिरहेको बेला भारत महारजगन्जका दिलीपराज केशीले एसिड आक्रमण गरेका थिए।